राष्ट्रिय जनगणना अन्तर्गत वनमा बस्ने फिरन्ते जाति राउटेको पनि गणना गरिएको छ । हाल राष्ट्रिय जनगणना टोलीले गणना गर्दा राउटेको संख्या १४४ पुगेको छ । ७५ महिला र ६९ पुरुष गरी १४४ जना राउटेको गणना भएको गणक टोलीले बताएको छ ।
सकेसम्म आफ्नो वस्तीमा कसैलाई पनि प्रवेश नदिने र आफ्ना भित्री कुराहरू नखोल्ने राउटे समुदायको हालको वस्तीमै पुगेर गणक टोलीले उनीहरूको गणना गरेकाे हाे । उनीहरूको विवरण संकलन गर्न दुई दिन लागेकाे स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले बताए ।
यो समुदाय दुई महिनाअघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका-१ बालुवासग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही वडाको घाटगाउँमा बसाइँ सरेको थियो । उक्त समय ४६ घरधुरी रहेका राउटेको संख्या १४१ थियो । एक सातायता राउटेहरू कुपिण्डेको वडा नम्बर ३ काँरागाउँमा सरेका छन् ।
यो समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै एक लोपोन्मुख जाति हो । कुनै पनि ठाउँमा स्थायी बसोबास नगर्ने, आधुनिक उपचार पद्धति तथा शिक्षाबाट पनि टाढै रहेको यो जातिका मानिसहरू कृषि तथा पशुपालनसमेत गर्दैनन् । परम्परागत रूपमा वन्यजन्तुको शिकार गर्ने, कन्दमूलहरू खोजेर खाने तथा आफूले बनाएका काठका सामग्री खाद्यान्नसँग साटेर यिनीहरूले जीविका गर्दै आएका हुन् । पछिल्ला केही वर्षदेखि उनीहरूलाई सरकारले जीवन निर्वाहका लागि भत्ता समेत दिने गरेको छ ।
बदलिंदै छ जीवन शैली
पहिलेको तुलनामा अहिले राउटेको खानपिनको शैलीमा परिर्वतन आएको छ । पहिले वनको कन्दमूल खाने, बाँदरको सिकार गरेर उसिनेर खाने, चामल पाएमा भातमा पानी बढी हालेर नुन छर्केर खाने राउटेको खानपान आजभोलि बिस्तारै बदलिन थालेको छ । उनीहरू पैसा खेलाउन र बजारमा गएर विभिन्न कुरा किनेर खान तथा लाउन थालिसकेका छन् । उनीहरूको बस्ने शैलीमा पनि परिर्वतन भएकाे छ । पहिले पहिले बाक्लो समाज मन नपराउने र समाजका मानिसहरूबाट टाढा रहने राउटेहरू आजभोलि समुदाय नजिक बसोबास गर्न थालेका छन् ।
गत मंसिरयता १८ राउटेको मृत्यु
गतवर्ष मंसिरदेखि यता मात्रै राउटे समुदायका १८ जनाको मृत्यु भइसकेको छ । एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको देखिन्छ । सरकारले दिने भत्ता उनीहरूले रक्सीमा खर्च गर्ने गरेकाे देखिन्छ । पछिल्लो समय सल्यानमा बसाइँ सरेपछि भने उनीहरूको मृत्युदरमा केही कमी आएको छ ।
आफ्ना समुदायका सदस्यको मृत्यु हुनासाथ त्यो बस्तीमा नबस्ने परम्परा भएकाले पछिल्लो दुइ महिनामा मात्रै उनीहरु १० ठाउँमा बसाइँ सरिसकेका छन् ।