नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी छ । भव्य समारोहकासाथ आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. लगायतले सम्बोधन गर्दै महाधिवेशनको सफलताको लागि शुभकामना दिएका छन् ।

महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशन गरेकोमा एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिए ।
उनले देश र जनताको हितका लागि राजनीतिक दलहरूबीच निरन्तर संवादको आवश्यक रहेको बताए । उनले दलहरुबीच देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताए ।
‘सरकार निरन्तर संवाद र छलफलबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छ । मुलुक कोभिडको महामारीका बेला सबै नागरिकलाई खोप दिनु आवश्यक थियो । विभिन्न मित्रराष्ट्रबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन्छौं । कोभिड न्यूनीकरण भएको छ । आर्थिक अवस्था राम्रो हुँदै गएको छ,’ प्रधानमन्त्री देउवाले भने ।
.jpg)
शुभकामना मन्तव्य दिंदै माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताए । राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उनले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताए ।
एउटै दलले मुलुकको विकास र समृद्धि गर्न नसक्ने भन्दै उनले एकता, सहकार्यको नीतिले समाजवादी क्रान्तिले मुलुकको अवस्था परिवर्तन गर्न सकिने बताए ।

यसैगरी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिए । राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहनु पर्छ भन्दै उनले भने - एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् ।

यसैगरी लोसपा नेता ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिएका छन् । उनले तराई मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उनलाई धन्यवाद दिएका हुन् ।
अब मधेस र मधेसी जनताको माग पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको भन्दै उनले माग पूरा हुनेमा आफू आशावादी रहेको बताए । अहिले पनि आफ्ना नेता कार्यकर्ता जेलमा रहेका र केहीले मुद्दा खेपिरहेको भन्दै उनले संविधान संशोधन गरेर आफूहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

राप्रपा अध्यक्ष कमल थापाले जनतालाई दिएको आश्वासन पूरा गर्न नसके पनि देश र जनताका लागि दुईवटा महत्वपूर्ण कार्य गरेको भन्दै एमाले अध्यक्ष ओलीकाे तारिफ गरे । तराई मधेसमा देखिएको पृथकतावादी आन्दोलन र सशस्त्र संघर्षको बाटोमा रहेका विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण बाटोमा ल्याउने ओलीको कार्य प्रसशंसायोग्य रहेको अध्यक्ष थापाले बताए ।
साथै कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नक्सा जारी गरेको र सो नक्सालाई संविधानको अङ्गमा समावेशन गर्ने कार्यबाहेक ओलीले आफ्नो शासनकालमा अरु राम्रो काम गर्न नसकेको थापाले बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताए। सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने उनले बताए ।
देश र जनताका लागि पनि राजनीतिक दलहरू एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनले जोड दिए ।