वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पुलिसले ललितपुरको जावलाखेल युथ क्लबलाई १-० अन्तरले पराजित गर्यो ।
७० औं मिनेटमा सुमन लामाको गोलमा पुलिसले अग्रता लिएको थियो । रवि पासवानले मैदानको मध्यभागबाट निकालेको लामो पासमा सुमनले पेनाल्टी क्षेत्रको दाहिने भागबाट गरेको प्रहारले सेकेन्ड बारमा जाली चुमेको थियो ।
बाकी समय दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
३९ औं मिनेटमा रूपबहादुर लामाले करिब ३० यार्ड परबाट गरेको फ्रि किक प्रहार पुलिसका गोलकिपर शत्रुघ्न चौधरीले बचाएपछि जावलाखेल अग्रता लिनबाट चुकेको थियो । पुलिसका हेमन्त श्रेष्ठले निकाश फर्नान्डेशमाथि फाउल गरेपछि जावलाखेलले फ्रि किक पाएको थियो ।
लगत्तै ४० औं मिनेटमा पुलिसका रवि पासवानले देब्रे कर्नर साइटबाट गरेको क्रसमा तेज तामाङको प्रहारको जावलाखेलका गोलकिपर टिकेन्द्रसिंह थापाले उत्कृष्ट बचाएका थिए ।
६२ औं मिनेटमा रवि पासवानले करिब ४० यार्ड परबाट गरेको प्रहार जावलाखेलका गोलकिपर थापाले पन्च गरी मुस्किलले बाहिर फ्याँकिदिए ।
६५ औं मिनेटमा रविको हेडर पहिलो बारमा लागेर फर्कियो । मानबहादुर परियारले प्रहार गरेको फ्रिकिकमा रविले फ्लिक हेड गरेका थिए ।
त्यस्तै ६७ औं मिनेटमा जावलाखेलका सन्तबहादुर गुरुङको प्रहार पनि सेकेन्ड बारमा लाग्दै फर्कियो ।
जितसँगै पुलिसले महत्त्वपूर्ण तीन अङ्क पाएको छ । पुलिसको दुई खेलबाट ४ अङ्क भएको छ ।
लिग अन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइजले एनआरटीको सामना गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र क्लब विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध मैदान उत्रने छ ।