पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढा मगरले जितेका छन् ।
शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने । पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन् । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे ।
सोही स्पर्धा हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दशौं भए ।
महिलातर्फ विजेता बनेकी हुमीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हुमीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन् । तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । सोही स्पर्धामा उषा खनाल चौथों, इन्द्रकुमारी तामाङ पाँचौं, बिदिशा चौधरी छैटौं र सकुन्तला बुढा मगर सातौँ भइन् ।
पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौँले ६ हजार, छैटौँले ५ हजार, सातौंले ४ हजार, आठौँले ३ हजार, नवौंले २ हजार र दसौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।
पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले विजेता खेलाडीलाई मेडल र नगद सहित पुरस्कृत गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष दावा तामाङले अर्को वर्ष जिल्लामा साइक्लिङको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।