विद्वत् शिरोमणि कुलचन्द्र गौतमलाई अमर राख्ने उनका कृतिहरु जनस्तरमा पुर्याउन संस्कृत शिक्षा सम्बन्धी विभिन्न गतिविधि संचालन गर्न विद्वानहरुले सुझाउ दिएका छन् । गौतमको ६३ औं स्मृति दिवस एवं उनको नाममा स्थापित कुलचन्द्र गौतम स्मृति संस्थाको १४ औं वार्षिक साधारणसभाका वक्ताले गतिविध बढाउन सुझाएका हुन् ।
राणा शासनका बेला राजा र राणा दुवैलाई विदेशनीति सम्बन्धी सुझाउ दिने विद्वानका रुपमा लिइने कुलचन्द्रले संस्कृत, नेपाली र हिन्दीमा अनेकौं पुस्तक लेखेका थिए । तीमध्ये कतिपय पुस्तक प्रकाशन गर्ने क्रम केही वर्षदेखि जारी छ ।
उनका कृतिहरुमा पुरुषार्थ कल्पवल्ली (पद्य १९५६), अमरकोष (नेपाली टीका १९५८), स्वयंवैद्य (आयुर्वेद १९७२), अलङ्कार चन्द्रोदय (समालोचना १९७८), राघवालङ्कार (२०१६), तुलसीकृत रामायण (नेपाली १९९६), र संस्कृत-नेपाली शब्दकोश (२०५४) प्रमुख छन् । बेलायतमा बस्ने उनका नाति डा. प्रसन्नचन्द्र गौतमले आफ्ना हजुरबाको योगदानलाई अमर राख्न संस्था नै खोलेर सामाजिक गतिविधि संचालन गर्दै आएका छन् । हजुरबा कुलचन्द्रले भाषा, साहित्य, व्याकरण, आयुर्वेदमा गरेको योगदान अतुलनीय रहेको थाहा पाएपछि सामाजिक सेवाका काम अघि बढाएका मात्रै होइनन् विद्वानहरुको सहायतामा वेदको अनुवाद र वैदिक साहित्यको प्रकाशनमा पनि उनी प्रसन्नतासाथ जुट्दै आएका छन् ।
शनिबार काठमाडौमा आयोजित साधारणसभामा भने उनी उपस्थित थिएनन् । कोभिड महामारीको अवरोधका कारण उनी बेलायतमै रोकिन पुगेको सभालाई अवगत गराइएको थियो ।
कार्यक्रममा डा. काशीनाथ न्यौपाने¸ डा. लक्ष्मीप्रसाद खतिवडा, डा. सुबोध शुक्ला र सुबोधराज प्याकुरेलले विद्वत् शिरोमणि गौतम स्मृति संस्थाले संस्कृत तथा वैदिक गतिविधिमार्फत् समाजमा योगदान बढाउनु पर्ने सुझाउ दिएका थिए ।
रघुनाथ अधिकारीद्वारा संचालित सभामा महासचिव उषा गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै धादिङ र सिन्धुपाल्चोकमा संस्थाले गरेका समाजसेवाका क्रियाकलापबारे पनि जानकारी गराएकी थिइन् । संस्थाका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षताको कार्यक्रममा कोषाध्यक्ष डा. बेनुबहादुर कार्कीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्वत् शिरोमणि कुलचन्द्रका छोरा लक्ष्मीनाथ गौतम नेपाल राष्ट्र बैंकका दोस्रो गभर्नर थिए ।
वक्ताहरुले कुलचन्द्रको नाममा भिन्न खालको गुरुकुल खोलेर र अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन गरेर उनका कृतिलाई कार्यान्वयनमा ल्याउनु पर्ने माग संस्थासमक्ष राखेका थिए ।