कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस)को पढाइ सञ्चालन गरेको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकम खलङ्गामा प्रतिष्ठान स्थापना गरेकोमा स्थापनाको एक दशकपछि प्रतिष्ठान एमबीबीएस पठाई सञ्चालन गर्न सफल भएको हो ।
चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिएको थियो । साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिटमध्ये आइतबारसम्म १५ जना भर्ना भएका छन् । तीमध्ये छात्रा पनि रहेका जनाइएको छ ।
प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को पनि अध्यापन सुरु भइसकेको छ । सो तहमा भक्तपुरका डा. रहिस कोजु, काठमाडौँ निवासी डा. प्रशंसा ताम्राकार र कपिलवस्तुका डा. वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् ।
यसैगरी धनगढी निवासी डा. ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा. मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन् ।
प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), नर्सिङ विषयमा पनि अध्यापन सुरु गरिएको छ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्रि र विपिएच पनि अध्यापन सुरु भइसकेको छ ।
प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ जना पूर्ण छात्रवृत्तिका विद्यार्थी र पाँचजना शुल्क तिरेर अध्ययन गर्ने विद्यार्थीलाई अध्यापन गर्ने जनाएको छ ।
प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र ४ शय्याको शल्यक्रिया कक्ष छ ।
चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ जना विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ ।