नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन अब दुई दिन मात्र बाँकी छ । त्यसैले कांग्रेसको संस्थापन र इतर दुवैपक्ष सभापतिसहितको आ-आफ्नो प्यानल बनाउन अन्तिम कसरतमा जुटेका छन् ।
बुधबार दुवै समूहको छुट्टाछुट्टै बैठक बस्दैछ । संस्थापन पक्षको बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबाको बूढानीलकण्ठस्थित घरमा बस्दैछ भने पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको छ ।
केहीबेर अघि सुरु भएको इतरपक्षको बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा.रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी छन् ।
सभापतिका आकाङ्क्षी वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा सहभागी भएका थिए । तर, चार आकाङ्क्षीमध्ये कोही पनि बैठकमा नबस्ने भनेपछि पौडेल पनि बाहिरिएका छन् । बैठकले छलफल गरेर आकाङ्क्षीहरूलाई सुझाव दिनेछ ।
मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पाँच घन्टासम्म बसेको बैठक बुधबारसम्ममा सभापतिको साझा उम्मेदवार तय गर्ने भन्दै टुंगिएको थियो ।
चाक्सीबारी बैठकमा सभापतिमध्येका एक आकाङ्क्षी डा.शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा.शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।
अर्कोतर्फ पार्टी सभापति देउवा पुनः सभापतिको आकाङ्क्षी छन् । उनले आज आफ्नो पक्षको पदाधिकारीको टुङ्गो लगाउने भएका छन् । देउवा पक्षमा पनि पदाधिकारी टुङ्ग्याउन निकै सकस छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकाङ्क्षी धेरै भएकाले संस्थापन पक्षलाई मिलाएर लैजान देउवालाई सजिलो छैन ।