विदेशी खेलाडी अजयी मार्टिनको ह्याट्रिक गोल र विश्वास श्रेष्ठले खेल सुरू भएको सबैभन्दा कम समयमै गोल गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरण समाप्त भएको छ ।
दशरथ रंगशालामा जारी शीर्ष डिभिजन लिगको तेस्रो चरण सकिँदा नवप्रवेशी सातदोबाटो युथ क्लब शीर्षस्थानमा छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोले आक्रामक खेल खेल्दै आफूलाई शीर्षस्थानमा अहिलेसम्म कायम राखिरहेको छ ।
शुक्रबार, शनिबार, आईतबार र सोमबार गरि सातामा चार दिन हुने लिगको खेल दिउँसो १ बजे र साँझ पौने ५ बजे हुँदै आएका छन् । तेस्रो चरण समाप्तिमा भने केही रोचक खेल र तथ्यहरू बने । सातदोबाटोका लागि नाइजेरियन अट्याकर मार्टिनले ह्याट्रिक गरे । जारी लिगमा मार्टिन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।
गत लिगमा थ्रिस्टारका संजोक राई र पुलिसका जुमानु राईले ह्याट्रिक गरेका थिए । त्यसअघि भएको बिना रेलिगेसनको लिग (२०७५) मा भने ह्याट्रिक गोल नै भएन ।
मार्टिनले विभागीय सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबविरुद्ध ह्याट्रिक प्रहार गरेका थिए । यता, लिगमा सर्वाधिक चाडो गोल गर्ने नाम हिमालयन शेर्पा क्लबका फरवार्ड विश्वास श्रेष्ठको नाममा रह्यो । बुधबार ५३औँ सेकेन्डमा विश्वास श्रेष्ठले गरेको गोलसँगै शेर्पाले अग्रता लिएको थियो ।
खराब प्रदर्शनलाई निरन्तरता दिएका एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब यस चरणमा समेत आफुलाई जोगाउन सकेनन् । यसपटक भने ब्रिगेड ब्वाइजविरुद्ध पाएको १-० अन्तरको जितसँगै त्रिभुवन आर्मी फुटबल क्लबले राहत पाएको छ र उपाधि दावेदारीमै रहने संकेत देखाएको छ ।
तेस्रो चरण समाप्तिमा सातदोबाटो, मच्छिन्द्र र मनाङको समान ७ अंक रहे पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । समान पाँच अंक बनाएका संकटा, नेपाल पुलिस, र आर्मी क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।
समान ४ अंक रहेका थ्रिस्टार, ब्रिगेड र च्यासल युथ क्रमशः सातौँ, आठौँ र नवौं स्थानमा रहँदा समान २ अंकका फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पा क्लब १०औँ, ११औँ र १२औँ स्थानमा छन् । विना कुनै अंकको जावलाखेल युथ र एपीएफ क्लब क्रमशः १३औँ र १४औँ स्थानमा रहँदै रेलिगेसन जोनमा छन् । चौथो चरणका खेल भोलि (शुक्रबार) बाट सुरू हुने छन् ।
तेस्रो चरणका खेल र नतिजा
१. फ्रेण्ड्स क्लब १-१ थ्रीस्टार
२. सातदोबाटो युथ क्लब ४-१ एपीएफ फुटबल क्लब
३. संकटा क्लब १-१ मनाङ मर्स्याङ्दी क्लब
४. च्यासल युथ क्लब १-१ न्युरोड टिम एनआरटी
५. ब्रिगेड ब्वाईज क्लब ०-१ त्रिभुवन आर्मी फुटबल क्लब
६. हिमालयन शेर्पा क्लब १-१ नेपाल पुलिस क्लब
७. जावलाखेल युथ क्लब ०-२ मछिन्द्र फुटबल क्लब