त्रिभुवन आर्मी फुटबल क्लब शुक्रबार च्यासल युथ क्लबलाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको दोस्रो खेलमा आक्रामक शैलीमा प्रस्तुत भएको आर्मीले जारी सिजनमा औसत मानिएको च्यासलविरुद्ध सहज जित निकाल्यो ।
आर्मीका जर्ज प्रिन्स कार्कीले १९ औं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । मिडफिल्डर टंक बस्नेतले विङ्गबाट दिएको सुन्दर क्रसमा उत्कृष्ट रन बनाउँदै जर्जले गोल गरेका थिए ।
च्यासलबिरुद्ध निरन्तर दबाब बनाएको आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ३६ औं मिनेटमा विङ्गबाट उत्कृष्ट रन बनाउँदै कर्नर फ्ल्याग नजिकबाट सुन्दर क्रस दिएका थिए । सोही क्रसलाई ६ यार्ड बक्स अगाडि ‘अन्मार्क" रहेका जगजित श्रेष्ठले ट्याप इन गर्दै सुन्दर गोल गरेका थिए ।
सुरुआती २५ मिनेटसम्म आर्मीको हाफमा बल पुर्याउनै संघर्षरत च्यासलका मिडफिल्डर आशिष राईले २३ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार फ्रेममा परेन ।
जितसँगै साविक उपविजेता आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको म्यान अफ दि म्याच आर्मीका जगजित श्रेष्ठ घोषित भए ।
तेस्रो खेलमा ब्रिगेड व्बाइज क्बलविरुद्ध सिजनको पहिलो जित निकालेको आर्मीका लागि कप्तान भरतले त्यो खेलमा एक मात्र निर्णायक गोल गरेका थिए । तेस्रो चरणका खेल सकिँदा तालिकाको छैठौं स्थानमा सीमित भएको आर्मी आजको जितसँगै चार खेलबाट ८ अंक जोडेर उपाधि होडमा फर्किएको छ ।
पराजित च्यासल चार खेलबाट चार अंक जोडेर नवौं स्थानमा छ । पहिलो खेलमा थ्री–स्टारसँग ३–० को नजितामा पराजित भएको च्यासलले दोस्रो खेलमा एपीएफलाई १–० ले पराजित गरेको थियो । तेस्रो खेलमा न्युरोड टिम (एनआरटी)सँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
चोथो चरणको दोस्रो दिन (शनिबार) दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी भिड्ने छन् । यस्तै, पौने ५ बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र आमनेसामने हुनेछन् ।