१९ बर्ष मुनिको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ । ढाकास्थित बिएसएसएस मुस्तफा कमल रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल साँझ ६ : ४५ बजे सुरु हुनेछ ।
पछिल्लो संस्करणको फाइनल खेलमा बङ्गलादेशसँग १-० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु-१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो ।
सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित समय १-१ अन्तरमा रोक्दै र पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको नेपाल उपविजेतामै सीमित भयो ।
यसपछिको संस्करण हुन सकेन । कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भुटान र श्रीलंका भिड्दा नेपालले दोस्रो खेलमा आयोजकको सामना गर्नेछ । साविक विजेता बंगलादेशविरुद्व खेल्दै गर्दा नेपाल बदलाको भावनामा हुनेछ । गत वर्ष फाइनलमा व्यहोरेको हारको बदला सहित नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।
हाल राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका ६ खेलाडीको साथ पाएको नेपाल उच्च मनोबलका साथ प्रतियोगितामा होमिएको छ । ६ खेलाडीबाहेक अधिकांश खेलाडी गत वर्ष फाइनल खेलेका खेलाडी टोलीमा छन् ।
‘खेलाडीहरूको मनोबल उच्च छ । हामी बङ्गलादेश र भारतलाई हराउँदै उपाधि जित पार्ने लक्ष्य राखेका छौं’, नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले भने ।
नेपाली टोली गोलरक्षक अन्जना राना मगरको कप्तानीमा मैदान उत्रनेछ । अन्जनासँगै फरवार्ड रश्मीकुमारी घिसिङ, रजनी थोकर, प्रिती राई, सविता रानामगर र विमला विकले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।
यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, फरवार्ड अमिशा कार्की, सुस्मा तामाङ जस्ता खेलाडीले गत वर्ष पनि प्रतियाेगिता खेलेका थिए ।
सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरि ५ टोलीको सहभागिता छ । प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।
यु–१९ नेपाली टिम
गोलरक्षक – अन्जना राना मगर (कप्तान), अन्किता राई, सावित्री किसन
डिफेण्डर – मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ
मिडफिल्डर –सुस्मा तामाङ, हिमा रावत, दीपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रिती राई,
फरवार्ड –अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा