मेलम्ची नगरपालिकाले गत असार १ गतेदेखि आएको बाढीले क्षति पुर्याएका तथा उच्च जोखिममा रहेका घरहरूमा नबस्न नगरबासीलाई अपिल गरेको छ। नगरपालिकाले मङ्गलबार जारी गरेको अपिलमा मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएकोतर्फ नगरवासीलाई सतर्क गराइएको छ । साथै त्यस्तो काममा नलाग्न अपिलसमेत गरेको छ ।
बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ । नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ । ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालद्वारा हस्ताक्षरित उक्त अपिलमा भनिएको छ । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको पनि उल्लेख छ ।
पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख छ ।
बाढी प्रभावितहरुको सम्पूर्ण विवरण सङ्कलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ । अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने ५० हजार रुपैयाँ सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने पाँच लाख रुपैयाँ र बसोबासयोग्य जग्गा नहुनेका लागि थप तीन लाख रुपैयाँसमेत प्राप्त हुने सुनिश्चित भइसकेको जनाउनु भएको छ। ।
नगरपालिकाभित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको अपिलमा उल्लेख छ । मेलम्ची बजार र फट्टेमा दुई वटा बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकारलाई आग्रह गरिएको र स्थायी पुल निर्माणका लागि अध्ययन भइरहेको समेत अपिलमा उल्लेख गरिएको छ ।