खेल भर दबाब खेपेको नेपालले यु–१९ महिला साफ फुटबलमा बंगलोदशसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ ।
शनिबार बीएसएसएस मुस्ताफा कमल मैदानमा भएको आफ्नो पहिलो खेलमा नेपालले बराबरी खेल्दै अंक खोसेको हो ।
गोलरक्षक अञ्जना राना मगरको कप्तानीमा रहेको नेपाल पुरा समय आफ्नो बक्स वरिपरि नै रह्यो । सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले नेपाललाई खेलमा पूर्ण रूपमा दबाबमा राखे पनि गोल भने गर्न सकेन ।
यस अघि सन् २०१८ मा भुटानमा भएको यु–१८ साफमा नेपाल फाइनल खेलमा बंगलादेशसँग १–० अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
गत सिजन कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको हो ।
आज नै भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटानले श्रीलंकालाई ५–० अन्तरले पराजित गर्यो ।
सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरी ५ टोलीको सहभागिता छ ।
प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
अब, नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्नेछ ।