थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै एपीएफले जारी सहिद स्मारक 'ए' डिभिजन लिगमा अंक खाता खोलेको छ ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दिनको एक मात्रै खेलमा एपीएफ र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाढेका हुन् ।
खेलमा अधिकांश समय एपीएफले पकड बनाए पनि गोल भने गर्न सकेन । ११ औं मिनेटमा आभास लामिछानेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाएपछि एपीएफले अग्रता लिने अवसर गुमाएको थियो ।
२९ औं मिनेटमा रक्षक मिडफिल्डर हेमन्त थापामगरको फ्रिकिकमा राफइल रिमको हेडर बाहिरिँदा थ्री स्टारले अग्रता लिने अवसर खेल फाल्यो ।
त्यसको एक मिनेटपछि नै एपीएफका आशिष लामाको फ्रिकिक थ्री स्टारका गोलकिपर प्रिसोले मुस्किलले जोगाएका थिए । ४२ औं मिनेटमा हेमन्तको कर्नर अन्ततः तामाङको हेडरले पोस्टको दिशा लिन सकेन ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपीएफले थ्री स्टारलाई दबाबमा राखेको थियो । ४९ औं मिनेटमा कप्तान नवीन लामाको फ्रिककमा आशिषले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा एपीएफले अग्रता लिने अवसर गुमाएको थियो । ८० औं मिनेटमा प्रदीप लामाको पासमा आशिषले गरेको हेडर बाहिरिएको थियो ।
एपीएफले चौथो खेलमा अंक खाता खोलेको हो । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग इन्जुरी समयमा सम्हालिन नसक्दा ३-२ ले निराश भएको एपीएफ दोस्रो खेलमा भने च्यासल यूथ क्लबसँग १-० र तेस्रो खेलमा सातदोबाटो यूथ क्लबसँग ४-१ ले पराजित भएको थियो ।
चार खेलमा एक अंक जोडेको एपीएफ १३ औं स्थानमा उक्लिएको हो ।
चार खेलमा पाँच अंक जोडेको थ्री स्टार भने सातौँ स्थानमा छ । थ्री स्टारले च्यासलमाथि जितका साथ लिगमा उत्कृष्ट सुरुआत गरे पनि पछिल्लो तीन खेलमा सुखद नतिजा ल्याएको छैन । थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग १-० अन्तरले स्तब्ध भएको थियो भने तेस्रो खेलमा फ्रेन्डस क्लबसँग अंक बाँडेको थियो ।
प्रतियोगिताको चौथो चरणको अन्तिम दिन भोलि (सोमबार) दुई खेल आयोजना हुनेछ ।