धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका किसानहरू अहिले रायासनिक मल नपाएर चिन्तित छन् । नेपालको तराई क्षेत्रका धेरै ठाउँमा धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ । यस वर्ष थन्क्याउने बेलाको धानवाली वर्षाले नष्ट गरिदिंदा मर्कामा परेका किसानहरू गहुँ छर्ने बेलामा पनि मल नपाउँदा थप निराश बनेका हुन् ।
मागअनुसारको मल नपाएपछि गहुँको उत्पादन पनि कम हुने चिन्तामा किसान छन् । धनुषाको हंशपुरका किसान शैलेन्द्र मुखिया भन्छन्, ‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म पुगेँ, तर कहीँ मल पाउन सकिनँ । मल नै पाएपछि गहुँ खेती कसरी गर्ने भन्ने तनाव भएको छ ।’
रासायनिक मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको जनकपुर कार्यालय केन्द्रले नै माग अनुसारको मल उपलब्ध नगराउँदा मलको अभाव हुँदै गएको बताउँछ । ‘वर्षेनी मलको माग बढ्दै गएको छ,’ कृषि सामग्री लिमिटेड जनकपुरका प्रमुख रामकुमार चौधरीले भने, ‘केन्द्रले सोअनुसारको मल उपलब्ध नगराउँदा यहाँका किसानले समस्या भोग्दै आएका छन् ।’
गत आर्थिक वर्ष ०७७-७८ मा कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा तीन हजार दुई सय मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डिएपी मात्रै केन्द्रले उपलब्ध गराएको थियो ।
चालू आर्थिक वर्षमा ५ हजार मेट्रिक टन युरिया र ४ हजार ५ सय मेट्रिक टन डीएपी मलको लक्ष्य रहे पनि अहिलेसम्म केन्द्रले २ हजार ९ सय ५ मेट्रिक टन युरिया र १ हजार ६ सय २७ मेट्रिक टन डीएपी मात्रै उपलब्ध गराएको उनले जानकारी दिए । प्राप्त मलमध्ये २ हजार ३ सय ५० मेट्रिक टन युरिया र १ हजार ५ सय ८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको र ५ सय ५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी अहिले गोदाममा मौज्दात रहेको उनले बताए ।
कृषि ज्ञान केन्द्र धनुषाका अनुसार धनुषामा ४० हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ ।