नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो चरणबाट नेतृत्व चयन हुन नसकेपछि अब दोस्रो चरणको निर्वाचनमा जाने सभापतिका उम्मेदवार शेखर कोइरालाले घोषणा गरेका छन् । पहिलो चरणको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रथम र शेखरलाई दोस्रो स्थान प्राप्त भएको थियो ।
पहिलो स्थानमा रहेका देउवालाई पनि सभापति निर्वाचित हुनका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त नभएकोले पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन हुन लागेको हो ।
अन्य उम्मेदवारहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ पहिलो चरणबाट नै बाहिरिइसकेका छन् । पछिल्लो परिस्थितिमा दोस्रो चरणको निर्वाचनमा निधि, सिंह र गुरुङ तीनैजनाले शेरबहादुर देउवाप्रति समर्थन जनाइसकेको अवस्थामा पनि शेखर कोइरालाले प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् ।
निर्वाचनमा जाने घाेषणा गर्दै कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैँमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘तपाईँहरू आफैँ नेता हुनुहुन्छ । आफ्नो मन, अन्तरआत्मा र विवेकको प्रयोग गर्नु हुने नै छ । तपाईँहरूको त्यही एक मतले नेपालको भविष्य परिवर्तन हुनेछ । भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस् ।’
आफू नेपाली कांग्रेसको सभापति निर्वाचित भए कांग्रेसको समग्र जीवनमा परिवर्तन ल्याउने योजना बनाएको पनि उनले बताए । आफूले सुरू गरेको नेपाली कांग्रेस रूपान्तरण र पुनर्जागरण योजनालाई निष्कर्षमा पुर्याउने घोषण उनले गरे । साथै निर्वाचनको परिणाम जेसुकै आए पनि स्वीकार्य हुने उनले बताए ।
उनले भने, ‘निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा म रहने नै छु । म मेरो देश, नेपाली जनता र लोकतन्तको सुनिश्चितता र आगामी पुस्ताका लागि समग्र जीवन आहूति गर्न चाहन्छु ।’