हुम्लामा चिसोबढेसँगै भेडापालक जाडो छल्न बेसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेसीतर्फ झार्न थालिएको हो ।
सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड, चंखिली, अदानचुली र ताँजकोट गाउँपालिकाका भेडापालक किसानहरू चरनका लागि हिँउदमा बेसी झर्ने गर्छन् ।
२ हजार ९ सय मिटरभन्दा बढी उचाइमा रहेका पाटनमा निकै चिसो बढेकाले पशुपालक किसानहरूले मंसिरदेखि आफ्ना भेडीगोठ बेसीतिर झर्न थालेको भेडा पालक सिमकोट गाउँपालिका-२ ठेहेका कालु बोहराले बताए ।
भेडापालक किसानहरू भन्छन् - पाटनमा चिसोले सताउँछ, सुक्खा हुँदा चरीचरण क्षेत्र कम हुन्छ र पशुवस्तु मर्ने त्रास हुन्छ । त्यसैले चिसो छल्नका लागि बेसी झारेको बताउँदै सिमकोट गाउँपालिका २ का भेडापालक गोरसिंह बोहराले भने, ‘झण्डै २ सयको संख्यामा रहेका भेडाबाख्रालाई घरमा ख्वाउने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो । चिसोले गर्दा आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।'
लेकमा राखेका भेडा, बाख्रा चिसोले गर्दा राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए ।
हुम्लाको सिमकोट नाम्खा खार्पुनाथ गाउँपालिकाका सबैजसो गाउँठाउँका कृषकले चिसो बढ्दैजाँदा लेकमा राखेका भेडाबाख्रा तथा अन्य वस्तुभाउ बेसीतिर झारेका छन् ।
उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । त्यसैले गर्मी बढेपछि बेसीबाट लेकतिर र हिउँदमा लेकबाट बेसीतर्फ झार्नुपरेकाे उनीहरू बताउँछन् ।