लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चे नजिकैको तारेभीरलाई ‘रक क्लाइम्बिङ’को प्रमुख गन्तव्य बनाइने भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभीरमा ‘रक क्लाइम्बिङ’को सम्भाव्यताबारे मर्स्याङ्दी गाउँपालिकाले दुई वर्षअघि अध्ययन थालेको थियो । अध्ययनबाट उक्त भीर रक क्लाइम्बिङको लागि उपयुक्त रहेको निष्कर्ष अन्तर्राष्ट्रिय माउन्टेन गाइडको समूहले निकालेको छ ।
दुई वर्षअघि व्यक्तिगत खर्चमा तारेभीरमा अध्ययन थालिएको अन्तर्राष्ट्रिय माउन्टेन गाइड विनायक जय मल्लले बताए । तारेभीर रक क्लाइम्बिङका लागि नेपालको मात्र नभई विश्वकै उत्कृष्ट प्रशिक्षण थलो बन्न सक्ने उनको भनाइ छ ।
उनका अनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त माउण्टेन गाइड नेपालमा मात्र ७२ जना छन् । गण्डकी अल्पाइन क्लबका उपाध्यक्षसमेत रहेका उनले विदेशबाट प्राविधिक सामग्री ल्याएर तीनवटा बाटो पहिल्याएको बताए ।
तारेभीरमा रक क्लाइम्बिङ् सञ्चालन गर्ने सम्बन्धमा मर्स्याङ्दी गाउँपालिकाले अपनत्व लिएपछि पूर्वाधार संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । तारे भीरमा रक क्लाइम्बिङमात्रै नभई विभिन्न तालीम तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
रक क्लाइम्बिङस्थलको पूर्वाधार निर्माण गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरी व्यवस्थित रूपमा अगाडि बढाइने उनले बताए । साथै उक्त भीरमा रक क्लाइम्बिङको लागि भएको अध्ययन र सम्भाव्यताबारे स्थानीयलाई भेला गरी जानकारी गराइसकिएको पनि उनले जानकारी दिए ।
भौतिक पूर्वाधार निर्माण तथा यसको गुरुयोजना निर्माणको लागि यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर अघि बढ्ने गरी मर्स्याङ्दी गाउँपालिका र गण्डकी अल्पाइन क्लबअघि बढेका छन् ।
पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई लाख रुपैयाँ खर्च गरी च्याम्चेबाट दुई सय मिटर माथिसम्म ढुङ्गको सिँढी निर्माण गरिएको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताए ।
रक क्लाइम्बिङका लागि छनोट गरिएको उक्त स्थान समुद्री सतहदेखि एक हजार ५ सय ४० मिटर उचाइमा पर्दछ । च्याम्चे नजिकैको साहसिक पदयात्राका लागि प्रस्तावित तारेभीर च्याम्चेबजारबाट पाँच सय मिटरको दूरीमा पर्दछ । उक्त भीरमा २५ मिटरदेखि १५० मिटर उचाइसम्मको साहसिक खेल स्थल निर्माण गर्न सकिनेछ ।