मनाङ ङिस्याङ गाउँपालिका-८ की माया गुरुङ, छिरिङ ओङ्मा घले र सुनीता गुरुङ यस वर्षको जाडो छल्न सहर झरिसकेका छन् । मनाङमा जाडो बढेपछि उनीहरू घरमा कुरुवा राखेर जाडो छल्न सहरतिर झरेका हुन् । जाडो बढेपछि उनीहरू मात्रै होइन मनाङको उच्च भेगका अधिकांश स्थानीय तीन महिनाका लागि बेसी झरिसकेका छन् ।
माथिल्लो मनाङमा धेरै जाडो हुन थालेपछि पुसदेखि फागुनसम्मका लागि सहर झर्ने मनाङीहरूको परम्परा नै हो । यस वर्ष भने छिटै जाडो बढेकाले मंसिर अन्तिममै जाडो छल्न सहर झरेका हुन् । मनाङवासी अधिकांशकाे लमजुङको बेसीसहर, चितवन, पोखरा, काठमाडौँलगायतका सहरमा घर छ । उनीहरू मनाङमा भएको घरलाई कुरुवाको जिम्मा लगाएर जाडोमा तल झर्ने गर्छन् ।
“जाडो सुरु भएसँगै मनाङमा भएका वृद्धवृद्धा र बच्चाबच्चीले मनाङ छाड्न थालिसके”, पिसाङका ध्रुव गुरुङले भने, “यहाँका व्यापारी र अन्य अधवैँशेहरू आफ्नो घर कुरुवालाई जिम्मा लगाएर काठमाडौं, पोखरालगायतका सहर झर्ने गर्दछन् ।” अब एकैचोटि फागुनमा ग्याल्पो ल्होसार मनाउन गाउँ फर्किने मनाङ ङिस्याङ गाउँपालिकाकी छोमा घलेले बताइन्।
मनाङका बासिन्दाले विश्वासिलो व्यक्तिलाई पारिश्रमिक दिएर घर कुर्न लगाउने गरेको माथिल्लो मनाङस्थित होटेल यतीका सञ्चालक एवं पर्यटन व्यवसायी विनोद गुरुङले बताए । “जाडो समयमा हिमपात पर्दा घरमा आएको हिउँ काटेर फाल्न र पन्छाउनका लागि घर कुरुवा राख्ने चलन छ”, गुरुङ भन्छन्, “केही मात्रामा घरमुलीका केही सदस्यहरू आफैं घरमा बस्ने गर्दछन् भने धेरैजसो मनाङी घर कुरुवा राखेर जाडो छल्न तल झर्ने गर्दछन् ।”
माथिल्लो मनाङस्थित भ्राका-४ का पल्साङ छिरिङ विक र उनकी त्नी ठूली विकले हरेक वर्ष हिउँदमा मनाङीको घर कुर्दै आएका छन् । घर कुरेबापत घरमालिकले उनीहरूलाई पारिश्रमिक दिने गर्दछन् । पारिश्रमिकका लागि गोरखा, धादिङ, संखुवासभालगायत विभिन्न ठाउँका मानिसहरू त्यहाँ गएर घर कुरिदिने गर्छन् ।
हिमालपारीको जिल्ला मनाङका ५० प्रतिशत जति मानिस जाडो छल्न काठमाडौं, पोखरा, चितवन, लमजुङ वा अन्य ठउँमा पुग्ने गर्दछन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार माथिल्लो मनाङ गाउँमा रातको समयमा तापक्रम माइनस ८ देखि १० डिग्री सेन्टीग्रेटसम्म झरेको छ ।