माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ ।
माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार यही पुस ११ गते सुरु हुने राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी १ हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।
राष्ट्रिय सम्मेलन ११-१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने उनले जानकारी दिए । सम्मेलनमा प्रस्तुत गर्न
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन तयार पारिरहेका उनले बताए । सो प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुने छ ।
राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने उनले बताए । ठूलो पार्टीबाट माओवादी खुम्चिएको अहिलेको अवस्थामा पुग्नुमा रहेका कमीकमजोरीहरूबारे राष्ट्रिय सम्मेलनमा समीक्षा हुने उनले बताए । साथै सम्मेलनले पार्टीलाई एकढिक्का बनाउने कुरामा प्रवक्ता महराले जोड दिए ।
महाधिवेशनको तयारीको क्रममा अहिले काठमाडौं छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले जानकारी दिए ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयाेजित पत्रकार सम्मेलनमामा पार्टी प्रवक्ता महराले माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक पनि सार्वजनिक गरेका छन् ।
लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र केही धार्मिक स्थलको चित्र देखिन्छ ।