कालीकोट जिल्लाका नौ वटै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । रास्कोट नगरपालिका, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्त्री त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र नरहरिनाथ गाउँपालिका सडक सञ्जालले जोडिएको हुन् ।
जिल्लाका नौ स्थानीय तहका ८२ वडामध्ये प्रायः सबै वडामा सडक सञ्जालले जोडिएकाे रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले बताइन् । ‘हाम्रो नगरका पनि सबै वडा सडक सञ्चालमा जोडिएका छन्,’ उनले भनिन्, ‘मूल सडक कालोपत्रे हुँदैछ ।’
खाडाचक्र नगरपालिकामा पनि ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया बिष्टले जानकारी दिए । ‘स्थानीय सरकार बनेपछि हामीले सबै वडामा सडक पुर्याएका छौं ।’ उनले भनिन्, ‘सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।’
यस्तै तिलागुफा नगरपालिकाका ११ वटै वडा सडक सञ्जालले जोडिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । सान्त्री त्रिवेणी गाउँपालिकाका ९ वटै वडा, पलाँता गाउँपालिकाका ९ वटै वडा, पचालझरना गाउँपालिका ९ वटै वडा सडक सञ्जालले जोडिएका छन् ।
नरहरिनाथ गाउँपालिकाका ९ वटामध्ये ५ वटा वडा सडक सञ्जालले जोडिएको र ४र वटा वडामा यसै आर्थिक वर्षमा सडक सञ्जालले जोडिसक्ने त्यसका लागि धमाधम काम भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए । उनका अनुसार वडा नम्बर १, २, ३, ८ र ९ कोटबाडा–कुमालगाउँ सडकले जोडिएका छन् भने वडा नम्बर ४, ५, ६ र ७ सडक सञ्जालमा जोडिन बाँकी रहेको छ ।
शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही वडाबाहेक अन्य वडा सडक सञ्जालले जोडिएको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए । यसै आर्थिक वर्षमा सबै वडामा सडक पुर्याउने लक्ष्य रहेको उनले बताए ।