तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा छ साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य चुनपहरो । यहाँ रक क्लाइम्बिङ गर्न बर्सेनि हजारौँ स्वदेशी र विदेशी पर्यटक पुग्ने गर्छन् । पृथ्वी राजमार्गसँगै जोडिएकाले सबै दृष्टिले उपयुक्त मान्छन् साहसिक पर्यटकले विमलनगरको चुनपहरालाई । हिमाल आरोहणका लागि पूर्व अभ्यास गर्न होस् या सुरक्षाकर्मीको तालिमका लागि रोजाइमा पर्छ चुनपहरो ।
यो पहरोमा २०६३ सालमा रक क्लाइम्बिङको रुट तयार भएको हो । त्यसपछि साहसिक पर्यटकमाझ लोकप्रिय हुँदैगएको चुनपहरो रुटको अब अस्तित्व नै मेटिन्छ कि भन्ने चिन्ता थपिएको छ । मुग्लिन पोखरा चार लेन सडक आयोजनाले चिन्ता थपिदिएको हो । सडक फराकिलो पार्ने क्रममा चुनपहरा भत्कन सक्ने आंशकाले स्थानीय सरकार, पर्यटन व्यवसायी र साहसिक पर्यटनसँग सम्बद्ध संघसंस्था झस्किएका छन् । यी सबैको एकमत छ - कुनै हालतमा चुनपहरो भत्काउनु हुँदैन, सडकका लागि अन्य विकल्प सोच्नुपर्दछ । रक क्लाइम्बिङमा विमलनगरको चुनपहरो जस्तो उत्कृष्ट गन्तव्य अन्त कतै नभएको उनीहरूको दाबी छ ।
सडक फराकिलो बनाउँदा पहरोलाई कटान गर्न नहुने विमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ बताउँछन् । ‘चुनपहरो कटान नगरी सडक विस्तार गर्नलाई वैकल्पिक उपाय सोच्नुपर्दछ । हामीले कुनै पनि हालतमा भत्काउन दिँदैनौँ, उनले भने । पर्यटनका लागि चुनपहरो राज्यकै गहना भएकाले सबै मिलेर जोगाउनुपर्ने उनको भनाइ छ । देश विदेशबाट चुनपहरो जोगाउनलाई आवाज उठिरहेको उनी बताउँछन् ।
विमलनगरको चुनपहरो नेपालको पर्यटनको लागि कोशेढुंगो सावित हुने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् । ‘पृथ्वी राजमार्गको विस्तारको क्रममा भत्कने कुराले सबैलाई झस्काएको छ । नभत्काउनलाई हामीले सरकोकारवालासँग माग गरेका छौँ’, अध्यक्ष थापाले भने ।
सडक विस्तार रोक्न नहुने तर चुनपहरो जोगाउनलाई विकल्प सोच्नुपर्ने उनी बताउँछन् । ‘पहरामा पूर्वाधार थप्दै स्थानीय युवालाई रोजगारसँग जोड्न सकिन्छ ’, उनले भने ।
चुनपहरो जोगाउँ भन्ने नाराका साथ शुक्रबारदेखि रक क्लाइम्बिङ महोत्सव नै गरिएको छ । सोमबारसम्म चल्ने महोत्वस पहरोमै गरिएको नेपालमै पहिलो पटक हो । महोत्सवको उद्देश्य चुनपहरो भत्काउन हुँदैन भनेर सरोकारवालालाई दबाब दिने रहेको छ । महोत्सवको आयोजना नेपाल पर्यटन बोर्डसँगै बन्दीपुर गाउँपालिका र गण्डकी अल्पाइन क्लबले गरेका हुन् ।
नेपालमा २७ वटा क्लाइम्बिङ रुट भएको एक मात्र विमलनगरको चुनपहरो भएकाले संरक्षण गर्नुपर्ने गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरी बताउँछन् ।
‘सडक सञ्जाल र खर्चको हिसाबले पर्यटकलाई चुनपहरो उपयुक्त छ । अन्त कुनै पहरो यस्तो छैन । तसर्थ रक क्लाइम्बिङका लागि यो नेपालकै उत्कृष्ट गन्तव्य हो’, उनले भने । चुनपहरोको प्रर्बद्धन गर्न बन्दीपुरका अन्य गन्तव्यसँग जोड्न उनको सुझाव छ ।
केही दिन अगाडि मात्र विमलनगर चुनपहरो प्राकृतिक चट्टान आरोहण संरक्षण समितिले भौतिक तथा पूर्वाधार मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएको थियो । समितिले सडक विस्तारको बेला चुन पहरोलाई जोगाउन तीन विकल्पसमेत पेस गरेको छ । विकल्पमा हाल कायम गरिएको मापदण्ड घटाउने, पहरो क्षेत्रको मापदण्ड घटाएर नदीतर्फ बढाउने र विमलनगरको पुलबाट पारी हुँदै लगभग एक दशमलव ५ किलोमिटर वैकल्पिक ट्रयाक खोलेर नयाँ पुल हुँदै निस्कने सडक बनाउन सुझाव दिइएको छ ।
सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडकखण्ड चार लेनको बन्दै छ । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाईएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिट सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो । आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । सडक फराकिलो पार्ने र रुख कटानको काम सुरु भइसकेको छ । विमनगरको चुनपहरोलाई कसरी जोगाउन सकिन्छ भनेर अध्ययन भइरहेको मुग्लिन पोखरा चारलेन सडक आयोजनाले जनाएको छ । आयोजना सुरुवातकै चरणमा भएकाले भइरहेको संरचनालाई असर नपुर्याइकन काम गर्ने आयोजनाले बताएको छ ।