राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित स्थानीयवासीले एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध पार्दै आएकोमा आयाेजनाले उनीहरूकाे माग सम्बोधन गरेपछि रोकिएको काम पूरा भएकाे हाे ।
प्रसारण लाइन तयार नहुँदा गत माघ ०७६ देखि व्यवसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै खेर गइरहेको थियाे ।
सोलुखुम्बुको तिङ्लादेखि सिरहाको मिर्चैयासम्म ८९.५ किलोमिटर लम्बाइको प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर निर्माण र तार तान्ने काम सम्पन्न भएको हो । आठौं पटक थपिएको म्याद सकिनु दुई दिनअघि निर्माण सम्पन्न भएको हो । पछिल्लो पटक थपिएको म्याद ३१ डिसेम्बर २०२१ सम्म थियो ।
.jpg)
टावर निर्माण र तार तान्ने काम सम्पन्न भएपछि अब तारमुनि पर्ने रुखहरू काट्ने काम भई रहेको आयोजना निर्माण कम्पनीका सम्पर्क अधिकृत दीपक गौतमले जानकारी दिए । आगामी जनवरीभित्र सबै काम सम्पन्न गरी उक्त प्रसारण लाइनलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।
सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजना ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २५ सेप्टेम्बर २०१६ मा सम्झौता भइ काम सुरू गरेको थियाे । तर विभिन्न कारणले काममा ढिलाई हुँदैजाँदा आयोजनाको काम ३१ डिसेम्बर ०२१ मा सक्ने गरी आठौँ पटक म्याद थप गरेको थियो ।
कटारी नगरपालिका-४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाइन्मेन्ट परिर्वतन गर्न र त्यसो हुन नसके पछिल्लो मूल्य अनुसार जग्गाको मुआब्जा दिन माग गर्दै काममा अवरोध गर्दै आएका थिए । तीन वर्षअघि प्रतिकठ्ठा २० लाखको दरमा मुल्याङ्कन भएको जग्गाको अहिले नगरपालिकाले सिफारिस गरे अनुसार प्रतिकठ्ठा ५० लाख अनुसार मुआब्जा हुनु पर्ने माग उनीहरूको थियो ।
आयोजनाका अनुसार अब उक्त क्षेत्रका नम्बरी र ऐलानी जग्गाको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ । सरकारले सो क्षेत्रका स्थानीयलाई मुआब्जा वितरणका लागि चार करोड ५० लाख रुपैयाँ रकम निकासा गरेकोमा हालसम्म तीन करोड रुपैयाँ मुआब्जाबापत भुक्तानी दिई सकेकाे आयोजनाका सम्पर्क व्यक्ति गौतमले बताए । आयोजनाको निर्माण खर्च करिब दुई अर्ब ५० करोड रुपैयाँ पुग्ने गौतमको भनाइ छ ।