नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।
माओवादी केन्द्रले सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास गरिरहेको छ । हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा क्लस्टर मिलाएर पूर्णता दिने तयारी छ । प्रवक्ता कृष्णबहादुर महरा सकभर निर्वाचन गर्नपर्ने अवस्था नआउने बताउँछन् । ‘सहमतिमै नेतृत्व/कमिटी चयन प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
महराले भनेअनुसार माओवादी केन्द्रमा चुनाव हुने सम्भावना न्यून छ । औपचारिकता पूरा गर्न केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम भने सार्वजनिक गरेको छ ।
जसमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय २ देखि २:३० सम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन ३:४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४:१० सम्म, छानबिन र निर्णय ४:३० बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन ४:४० सम्म, उम्मेदवारको नाम फिर्ता ५:३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५:४५ बजेसम्म तोकिएको छ ।
निर्वाचन हुने गर्नुपर्ने अवस्थामा मतदान ६:२५ देखि राति १०:२५ बजेसम्म गर्ने कार्यक्रम छ । माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।