यो तस्बिर गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभुत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको थियो । एक्कासी हिमपात भयो, शिक्षकहरूले पूर्वनिर्धारित परीक्षा रोक्न सकेनन् ।
कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था नभएपछि विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाइयो । टेबुलकुर्ची हिउँमाथि राखिएको थियो, त्यहीँबाट विद्यार्थीले परीक्षा दिए ।
१ देखि ८ कक्षासम्म पढाई हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए । पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए ।

‘परीक्षा सुरू भएपछि हिउँ पर्न थाल्यो । भित्र राख्दा झनै जाडो हुने भएपछि बाहिर राखेर परीक्षा दिन लगाएका हौं,’ उनले भने, ‘हतार गरेर परीक्षा सक्यौं । स्कुल बन्द गरेर हामी चाहीँ बेँशी झरेका छौं, विद्यार्थी घरतिरै छन् ।’ गाउँपालिका र वडाको मौखिक निर्देशनपछि एक महिनाका लागि विद्यालय बन्द गरेको र एक महिनापछि सोही भवनमा स्कुल सञ्चालन गरिने ढकालले बताए ।
चुमनुब्रीमा एउटा मात्रै घुम्ती विद्यालय छ । मनाङ र मुस्ताङका विद्यालयले पोखरा, लमजुङ, काठमाडौंलगायत ठाउँमा घुम्ती पढाई चलाउँछन् । तर गोरखामा त्यो व्यवस्था नभएको उनले बताए ।
‘घुम्ती स्कूल भए सजिलो हुन्थ्यो । हाम्रो तिर सरकारले त्यो सुविधा दिएको छैन,’ उनले भने, ‘आफैँ गरौं भने स्रोतले पुग्दैन । विद्यार्थीलाई यसरी गाह्रो हुन्छ ।’ उत्तरी गोरखा भौगोलिक रूपमा विकट छ । सरकारले आवासीय विद्यालयको अवधारणा ल्याए पनि कार्यान्वयन राम्रो छैन ।