नेकपा एमालेको जिल्ला अधिवेशन ६१ वटा जिल्लामा आज एकसाथ सुरु भएको छ । अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उद्घाटन गरेका हुन् । हिमाली जिल्लाहरूमा परिस्थिति अनुकूल नभएको र अन्य केही जिल्लामा तयारी नपुगेको कारणले १६ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएकाे छ ।
उद्घाटन सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनका सम्बन्धमा अन्य दलका व्यक्तिहरूले अध्ययनविना नै टिकाटिप्पणी गरिरहेको बताए । एमाले महाधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको उनले बताए ।
एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे । हालको सत्तारूढ गठबन्धन र खासगरी नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।
एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु सबै पार्टी र अर्काेतिर एमाले राख्दा पनि एमाले नै शक्तिशाली रहेको दावी गरे । आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनले बताए ।
एमालेले आठ वर्षपछि जिल्ला अधिवेशन गर्न लागेको हो । यतिबेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो।
एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन्।
त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने, सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एकपटक सदस्य भई काम गरेको हुनुपर्नेछ।