गत मङ्सिरको आधाआधितिर जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन् - रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल सञ्चालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’
मन्त्री यादवले प्रतिवद्धता जनाएकाे एक महिना पूरा भैसक्यो, तर रेल सञ्चालनकाे टुङ्गो छैन । हुन त यस अघि पनि मन्त्री लगायत विभिन्न स्तरबाट पटक पटक प्रतिबद्धता व्यक्त भएकै हुन् । तर रेल गुडेका छैनन्, थन्कीरहेका छन् । त्यसैले स्थानीय जनता अब त्यस्ता प्रतिबद्धताबाट उत्साहित हुन छोडिसकेका छन् ।
मङ्गलबार भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले कुर्था-जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गर्दा पनि सर्वसधारणमा उत्साह थिएन ।
कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयार पारिएको भौतिक पूर्वाधार र रेल सञ्चालनका लागि नेपालको तर्फबाट भइरहेको तयारीको विषयमा जानकारी लिएको थियो ।
भारत सरकारले नेपालमा चाँडोभन्दा चाँडो रेल संचालन हुन सक्कोस् भन्ने चाहना राखेको भन्दै उनले भने, ‘हामीले आफ्नो काम सम्पन्न गरिसकेका छौं । अब नेपाल सरकारले रेल चलाउने हो । हामी आवश्यक सहयोग गर्न तयार छौं ।’
तर नेपालतर्फबाटै आवश्यक तयारी पूरा भएको छैन । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले रेल चलाउन अझै समय लाग्न सक्ने बताए । रेल सञ्चालन सम्बन्धी कानुन बने पनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताए ।
रेल्वे कम्पनीका यस अघिका महाप्रबन्धक गुरु भट्टराईकै समयमा भारतीय रेल्वे कम्पनी कोंकणसँग प्राविधिक कर्मचारीको सहयोग लिए रेल संचालनको सम्झौता भएको थियो । सम्झौता अनुसार रेल चलाउने, रेलको सर्भिसिङ तथा नेपाली कर्मचारीलाई तालिम दिने गरी वार्षिक २२ करोड भारतीय रुपैयाँ नेपाल रेल्वेले ती कम्पनीलाई बुझाउने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार नेपालले पहिलो किस्ता बापतको साढे ७ करोड नेपाली रुपैयाँसमेत बुझाइसकेको छ ।
भारतीय कम्पनीले सम्झौता अनुसार नेपालका करिब ढेड सय कर्मचारीलाई दुई चरणमा झण्डै २० दिन तालिम पनि दियो । तर नेपालमा केपी ओली नेतृत्वकाे सरकार परिवर्तन भएपछि तत्काली महाप्रवन्धक भट्टराई पनि पदबाट हटे ।
अहिले निरञ्जन झा महाप्रबन्धक छन् । महाप्रबन्धक झा आएलगत्तै पहिले तालिम लिएका सबै कर्मचारीलाई हटाइदिएका छन् । अहिले रेल चालकसहित २६ जनाको प्राविधिक टोली कोंकणले दिए पनि अन्य आवश्यक कर्मचारी कम्पनीसँग छैनन् ।
त्यसो त रेल्वे कर्मचारीका लागि निर्माण गरेको आवास भवन पनि पूर्ण भएको छैन । भारतीय पक्षले गत कात्तिक ५ गते रेल्वेका केही काम बाँकी नै राखेर उक्त भवन नेपाल सरकारलाई हस्तान्तरण गरेकाे थियाे । उक्त भवन वर्षायाममा चुहिने भएकोले त्यसको मर्मत, स्टेशन, हल्ट तथा आवास भवनमा विजुली वत्ती, पानीको सप्लाई, प्लबिङ्गको काम,भवनमा झ्यालढोका, हलमा शौचालयको निर्माण लगायतका काम अझै बाँकी छ ।
भवन हस्तान्तरण गर्दा भारतीय पक्षले एक महिनाभित्रमा ती काम पूरा गर्ने आश्वासन दिए पनि अझै काम भएकाे छैन ।
रेल्वको १४ हजार क्ल्पि फेरि चोरिए
कुर्था-जयनगर रेल्वेको क्लिप पुनः चोरी भएको छ । करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको महाप्रबन्धक झाले बताए । चोरी भएका क्लिप पुनः भारतीय पक्षले लगाइदिने कुरा भएकाे पनि उनले जानकारी दिए । यसअघि रेल्वेका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए । रेल्वे ट्र्याकको सुरक्षा सशस्त्र प्रहरीले गर्दै आएकाे छ ।
सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर--बिजलपुर–-बर्दिवास रेल सेवा सञ्चालनका लागि सहमति भएकाे थियाे । त्यसमध्ये पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा सञ्चालनकाे तयारी भए पनि सुरु हुने छाँटकाँट अझै देखिएको छैन ।