बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले भक्तपुरको थिमीमा आयोजित २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् ।
१३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ किर्तिमान कायम गरेकी हुन् ।
यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि किर्तिमानमा आफ्नो नाम लेखाईन् । उनले स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । यस अघि यस तौल समूहको किर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको किर्तिमान तेश्रो सुनिल लाल स्मृती भारोत्तोलन प्रतियोगितामा राखेकी थिईन् ।
नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथ तर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा १०६ केजी भारका साथ स्वर्ण हात पारिन् ।
महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरि कुलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् । जुनियर तर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरि कुल ९९ केजी भार बहन गरिन् । महिलाको ५५ केजीकै सिनियर तर्फ नेपाली सेनाका खेलाडीहरुले बर्चस्व राखे । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङ्गले रजत र अस्मिता पुलामीले कास्य हात पारे ।
महिलाको ६४ केजी तौल समूहको युथ तर्फ बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८ केजी, क्लिनमा ५६ केजी गरि कुलमा १०४ केजी भार बहन गरिन् । जुनियर तर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण प्राप्त गरिन् । ललिताले स्नाचमा ४० र क्लिनमा ५५ केजी गरि कुल ९५ केजीका भार उचालिन् । यस स्पर्धाको सिनियर तर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ८० केजी गरि कुल १४७ केजी तौल उचालिन् । पुरुष ७३ केजी तौलको सिनियर तर्फ सेनाका जीवन तामाङ्गले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ केजी र क्लिनमा ११३ गरि कुलमा १९९ केजीका साथ स्वर्ण हात पारेका हुन् ७३ केजी तौलको जुनियर र युथ तर्फको दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले हात पारे ।