नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिर जानका लागि केबलकार निर्माणको काम सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबलकार सञ्चालनमा ल्याउने जनाएको छ । “मौलाकाली केबलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ”, ढकालले भने, “अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ ।”
“केबुलकारसँगै निर्माण हुने होटेलका लागि केही समय लाग्न सक्छ तर आगामी पुस महिनाभित्र केबलकार सञ्चालनमा ल्याइसक्छौँ”, ढकालले भने, “अब आउने माघे सङ्क्रान्तिमा केबलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइन्छ ।”
मौलाकाली केबलकार कम्पनीले करिब रु साढे एक अर्बको लागतमा आयोजना अगाडि बढाएको हो । निर्माण सम्पन्न भएपछि सर्वसाधारणका लागि समेत शेयर निस्कासन गर्ने योजना रहेको उनले बताए ।
मन्दिर नजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेशन हुने ढकालले जानकारी दिए । केबुलकारको एकतर्फि लम्बाई एक हजार २०० मिटर लामो हुनेछ । यसमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उनले बताए ।
केबलकार सञ्चालनमा आएपछि १० मिनेटको यात्रामा मौलाकालिका मन्दिर पुग्न सकिने ढकालको भनाइ छ । अहिले मन्दिरसम्म पुग्न ढुङ्गाले चिठेको करिब १ हजार ९ सय खुड्किला उक्लिनु पर्छ । यसमा सामन्यतया ४५ मिनेट लाग्ने गर्छ ।
केबुलकार निर्माणका लागि स्थानीयले ४९ प्रतिशतसम्म रकम राख्न सक्नेगरी सहमति भएर काम अगाडि बढेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए । ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको मौलाकालिका मन्दिरमा लामो समयदेखि केबलकार सञ्चालनको माग उठेकाले स्थानीय सहभागितामा व्यवसायी ढकाललाई निर्माणको जिम्मा दिइएको उनको भनाइ छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमालका अनुसार मौलाकालिका मन्दिरको इतिहास करिब ५०० वर्ष पुरानो छ । पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट स्नानका लागि जाँदा यहाँ मौला गाडिएको ठाउँमा पूजा गरेर जाने गरेको इतिहास भएको रिमालको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गको नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ समुद्र सतहदेखि ५६१ मिटर उचाइमा मौलाकालिका भगवतीको मन्दिर छ । विगतमा वर्षको दुई पटक मात्रै मन्दिरमा पूजाआजा हुने गरेको भएपनि अहिले दैनिक पूजाआजा हुने गरेको छ । “पहिले चैते दसैँ र बडा दसैँमा मन्दिरमा पूजाआजा हुने गर्दथ्यो, ४२ सालपछि मन्दिरमा दैनिकरूपमा पूजा हुँदै आएको छ”, रिमालले भने । (रासस)