मुगुकी छायानाथ रारा नगरपालिका–१ छत्यालकी ३७ वर्षीया जौमती नेपाली हरेक बिहान पाँच बजे नै सदरमुकाम गमगढी बजारमा पुग्छिन् । यसरी बिहानै गमगढी बजारतिर जानु उनको रहर होइन बाध्यता हो ।
उनलाई पनि अरु महिलालाईजस्तै बिहानभरी घरमा केटाकेटीसँग बस्ने रहर नभएको होइन । केटाकेटीलाई विद्यालय पठाएर उनीहरू आउने बाटो हेरेर बस्ने मन छ । तर यी सबै रहर मारेर उनी झिसमिसेमै नाम्लो बोकेर गमगढीतिर लाग्छिन् ।
छायानाथ बजारमा उनी कवाडी सङ्कलनको काम गर्छिन् । यसैबाट आउने आम्दानीले उनको परिवार धानिएको छ । घरमा आम्दानी गर्ने दोस्रो कोही नभएपछि उनी आफैँ यो काममा लागेकी हुन् । तीन छोरा, तीन छोरीकी आमा जौमतीले यसै कामबाट हुने आमदानीले आधा दर्जन छोराछोरी र श्रीमान्को खर्च धानिरहेकी छन् ।
कवाडी सङ्कलन काम गर्ने सदरमुकाम गमगढीमा उनी एक्ली महिला हुन् । खासै आमदानी नभए पनि बिहान बेलुका छाक यसैबाट टार्ने गरेको उनले बताइन् । उनी भन्छिन्, ‘यसैबाट नुन, तेल, कपडा किन्न पुगेको छ ।’ यो काममा कमाइ थोरै तर खटाइ धेरै हुने उनी बताउँछिन् ।
जौमतीले यस्तै काम गरेको १५ वर्ष भइसकेको छ । एक दशकभन्दा बढी समयदेखि एउटै काम गरे पनि उनको जीवन र दैनिकी उस्तै छ । सामान्य सक्षरसमेत नभएका कारण अन्य पेशा गर्न आँट समेत नगरेको उनले बताइन् । उनी भन्छिन्, ‘भारत जाउँ भने घरमा बालख छोराछोरी छन् ।’
मिलेको बेला उनी व्यापारीका सामान ओसार्ने काम पनि गर्छिन् । बजारका व्यापारीहरूले ल्याएको सिमेन्ट, नुन, खाद्यान्नलगायतका सामग्री ट्रकबाट झार्ने समेत गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘महिला त चुलो चौकोमा मात्र सीमित हुनुपर्छ भन्छन् । घरको डिल नाघ्नु हुँदैन भन्छन् । तर आफूलाई घरको डिल ननाघे भोकै पर्नुपर्छ ।’
आफूसँग केही सिप नभएकैले यस्तो दुःख गर्नु परेको उनले बुझेकी छन् । यसै कारण स्थानीय सरकारले विपन्न र गरिबलाई लक्षित गरी केही सिपमूलक तालिम दिए हुने उनी बताउँछिन् । ‘स्थानीय सरकारले सिपमूलक तालिम दिए त्यसैबाट आम्दानी गर्न सक्थ्यौँ कि,’ उनले भनिन् ।