रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिवमा जगन्नाथ चापागाईँ नेपाल भ्रमणमा आएका छन् । उनी मङ्गलबार साँझ काठमाडौँ आइपुगेका हुन् ।
नेपाल भ्रमणका क्रममा उनले नेपालस्थित आइएफआरसी र नेपाल रेडक्रसका गतिविधि बारे जानकारी लिने बताइएको छ ।
आपत्कालीन मानवीय सेवामा समर्पित सर्वाेच्च परोपकारी संस्था आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईँ पहिलो नेपाली हुन् ।
विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील ५२ वर्षीय उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका हुन् । सो जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उनलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो ।
बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् । आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटिरहेका छन् ।
आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ ।
नेपाल रेडक्रसका अनुसार आइएफआरसीले कोभिड–१९ को सुरुआती चरणमा कोभिड उपचारका लागि स्वास्थ्य संस्थामा उपकरण तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका साथै स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, मास्क, स्यानिटाइजरलगायत सहयोग गरेको थियो । पछिल्लो चरणमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, थर्मलगन, शव व्यवस्थापनका लागि झोलालगायतका सामग्री तथा खोपका लागि पनि सो संस्थाले समन्वय गरेको छ ।