सिमसार भन्नाले पानीको मुहान, पोखरी, ताललगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।
सिमसारले वातावरण संरक्षण तथा पर्यापर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गामा चढेर जलविहारको आनन्द लिनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यको अनुभव सिमसारले नै उपलब्ध गराउँछ ।
विश्वको करिब नौ प्रतिशत र नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण वासस्थान हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् ।
नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।
विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेब्रुअरी १९७१ मा इरानको रामसार भन्ने सहरमा भएको थियो ।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आवद्ध देशको सङ्ख्या १७० पुगेको छ । साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् ।
सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो ।
रामसार सूचीमा नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बीसहजारी तथा आसपासका तालहरु, रारा ताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड तथा आसपासका तालहरु, गोक्यो तथा आसपासका तालहरु, माईपोखरी र पोखरा उपत्यकाका ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ ।
सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान प्राकृतिक प्रणालीको अंश मानिन्छ । यसले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्छ ।
सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्याउनेलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको हुन्छ ।
विगत केही दशक यता जलवायुमा आएको परिर्वतनलगायतका कारणले पानीका मुहान तथा जलाशय सुक्दै गएका कारण सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएका छन् ।
यसैबीच रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै आज विश्व सिमसार दिवस मनाइरहँदा यिनको संरक्षणप्रति सबै गम्भीर बन्नु जरुरी भएको छ । (रासस)
।