रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदर आतङ्कले मानिसहरू हायलकायल बनेका छन्।
बाँदरको हुल पसेर घोगा लागेका मकै, बोटका फलफूल तथा लहरापातका तरकारीसमेत सबै सखाप पारिदिने गरेको परिवर्तन गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभएको छ । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो ।
घरभित्रै पसेर पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लगिदिने गरेको स्थानीयहरू बताउँछन् । बाँदर आतङ्कले बसाइँ नै सर्न पर्ने अवस्था आएको उनीहरूको गुनासो छ । दुःख गरेर लगाएको बाली बाँदरले एकैपटक आएर सखाप पारिदिने गरेकाले कति परिवार त बसाई सरिसकेको उनीहरू बताउँछन्। “साँझ घर आयो फेरि बिहानै उठेर बाँदर धपाउन खेतबारी पुग्नुपर्छ”, मनु बुढामगरले भन्नुभयो । “हिउँदको समयमा सिँचाइको सुविधा छैन, उत्पादन पनि हुँदैन, वर्षे बालीको आशा हुन्छ तर बाँदर आएर त्यो पनि खाएर नष्ट गरिदिन्छन् ।”
पहिले पहिले पनि बाँदर आउने गरेको थियो तर अहिलेकोजस्तो धेरै दुःख दिने गरेको थिएन ज्येष्ठ नागरिक माकु चन्द्रकाले बताउनुभयो । “म बूढो मान्छे, बिहानै खेतमा जान्छु, बाँदर धपाएर बस्छु”, उहाँले भन्नुभयो । अहिले गाउँमै बाँदर पस्न थालेर हैरानै पारेको उहाँको गुनासो छ । परिर्वतन गाउँपालिकाको ओह, हाकलङ, नाफे, थानकोट, झेङ्जा, माडी गाउँपालिकाको खनाबाङ, धनथाना, तथा गङ्गादेव गाउँपालिकाको भिरखोला, झाझर खोलालगायतका विभिन्नि ठाउँमा बाँदरले सताउने र क्षति गर्ने गरेको छ । बाँदरले दुःख दिएपछि जङ्गल नजिकै भएका धैरै खेतबारी बाँझै रहने गरेका छन् ।