पर्सामा धानबालीमा गवारो र पातबेरुवा रोग देखिएको छ । गवारो कीरा लागेर धमाधम धानको गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । गवारोले बाली धेरै नास गरेको कतिपय ठाउँमा किसानले दोहोर्याएर रोपाइँ पनि गरेका छन् । शुरुमा पर्साको उत्तरी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरिसकेको छ । रोगले कति क्षति गरेको छ भन्ने यकीन हुन सकेको छैन ।
पर्सामा ९० प्रतिशत किसानले व्यावसायिकरुपमा धानखेती गरेका छन् । हालसम्म पर्सा जिल्लामा ९७ प्रतिशत धान रोपाइँ भइसकेको छ । जिल्लामा कुल ३५ हजार २० हेक्टरमा किसानले धानखेती गरेकोमा पछिल्लो समय १० प्रतिशत धानबालीमा गवारो रोग र पाँच प्रतिशत धानबालीमा पातबेरुवा रोग लागेको कृषि ज्ञान केन्द्रको अनुमान छ । रोपाइँ गरेको ४० देखि ७० दिनसम्मको धानबालीमा गवारोले क्षति गर्नथालेको किसानहरूले बताएका छन् । हाल फाट्टफुट्टरुपमा धानबालीमा ब्लास्ट रोग पनि फेला पर्न थालेको छ ।
गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानले गाँज हाल्दादेखि फूल फुल्नेवेला र बाला लाग्दासम्म पनि गवारोले आक्रमण गर्ने किसानको अनुभव छ । कीरा तीव्ररुपमा फैलने र धानका बोट केही दिनमै ओइलाउँदै मर्ने गरेको उनीहरू बताउँछन् । सोना मन्सुली धानबालीमा गवारो र पातबेरुवा रोग बढीमात्रामा लाग्ने गरेको बाली संरक्षण अधिकृत समसुल हक मियाँले बताउनुभयो । अधिकृत हकका अनुसार कीराको सङ्क्रमणले अहिले धानको बोट नै मर्दै गएका छन् ।
पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको गरी ६ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि विज्ञको भनाइ छ । “गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सूक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, अधिकृत हकले भन्नुभयो, “धान खेतमा कीराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले समयमै ध्यान दिन जरुरी छ ।”
यसैबीच प्रसारप्रचारको अभाव, किसान आकर्षित हुन नसक्नु र स्थानीय तहको उदासीनताका कारण ब्लक उत्पादन कार्यक्रमको रु ३ करोड २५ लाख फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ब्लक निर्माण कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र पर्सामार्फत आएको सो रकम किसानसम्म पुग्नै नसकी फ्रिज भएको छ । सो कार्यक्रम सञ्चालन गर्न एकै ठाउँमा सवा दुई बिघा जग्गाको लालपूर्जा पेश गर्नुपर्ने कानूनी प्रावधान रहेकाले किसानले यति ठूलो जग्गाको लालपूर्जा, चारकिल्ला प्रमाणितजस्ता प्रमाणपत्र पेश गर्न नसकेकाले उक्त कार्यक्रम प्रभावित भएको बताइएको छ ।