सुदूरपश्चिम क्षेत्रका कतिपय ठाउँमा छाउपडी अर्थात् महिनावारी भएकी महिलालाई दूध, दही खान दिए गाई-भैँसी बिग्रन्छन् र दूध दिन छोड्छन् भन्ने विश्वास अझैसम्म पनि व्याप्त छ । डोटीको पूर्वीचौकी गाउँपालिका-२ का किसान अहिले पनि यही विश्वासमा भैँसीको दूध बजारमा बिक्री गर्न मान्दैनन् । किसानले दूध बिक्री गर्न नमान्ने गरेकाले प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारस्थित बगलेक तथा झिग्रानाका पसल तथा होटेलमा दूध नहालेको कालो चिया मात्रै पाइने गरेको स्थानीय तापसिंह साउद बताउँछन् । उनले भने, “भैँसी पाल्ने किसान दूध बिक्री गर्न मान्दैनन्, यहाँ आउने आन्तरिक पर्यटकले दूध हालेको चिया माग्छन् तर दूध नहुँदा कालो चियामै चित्त बुझाउनुपर्छ ।”
यस क्षेत्रमा खोलिएका होटेल, पसल, होमस्टे तथा सेनाको ब्यारेकमा दूधको माग भए पनि किसानले दिन मानेका छैनन् । आफ्ना परिवारबाहेक बाहिरबाट आएका पाहुनालाई समेत दूध नदिने र दिनै परे मोहीसम्म मुस्किलले दिने गरेको जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए ।उनले भने, “भैँसीको दूध गैर घरपरिवारलाई दिन हुन्न र बिक्री पनि गर्न हुन्न, दिए वा बिक्री गरे भैँसी बिग्रिन्छ भन्ने वर्षौदेखिको अन्धविश्वास अहिले आएर समस्याको विषय बनेको छ ।”
साइन नेपाल नामक गैरसरकारी संस्थाले दूध बिक्री वितरण गर्दैमा भैँसीले दूध दिन छोड्दैन र भैँसी पनि बिग्रिंदैन भनेर किसानलाई बुझाउने र बिक्री गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने भएको छ । बगलेक र झिग्रानामा दूधको निकै आवश्यकता भएकाले किसानलाई दूध बेच्न प्रोत्साहित गर्न लागेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताएका छन्। उनी भन्छन्, “सबैले दूध बिक्री गरून भन्ने उद्देश्यले किसानलाई भैँसी नै किनेर दिने तयारी गर्दै अन्धविश्वास अन्त्य गर्ने पक्षमा छौँ ।”
उक्त संस्थाले किसानका भैँसीलाई गर्भधारण गराउन सहज होस् भन्ने उद्देश्यले ५० हजार रुपैयाँमा उन्नत जातका राँगा किनेर वितरण गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताए । उनले भने, “वडाभर प्रायः सबैका घरमा भैँसी पालिएका छन् तर दूध कसैले बिक्री वितरण गर्दैनन्, कोही बिरामी पर्दा दूध चाहिए अन्यत्र गाउँमा जानुपर्ने बाध्यता छ ।”
किसानले घिउ भने बजारमा बेच्ने गरेका छन्। स्थानीय श्यमबहादुर विकले भन्छन्, “घिउ जति पनि पाइन्छ तर भैँसी बिग्रिन्छ भनेर दूध र मोही दिँदैनन्, अन्धविश्वास कायमै रहेका कारण यहाँ दूधको समस्या पर्दै आएको छ ।” भैंसी पाल्ने किसान प्रसस्तै भएपनि उनीहरूले दूध नबेच्दा छिमेकी जिल्ला डडेल्धुराबाट मगाउनुपर्ने बाध्यता रहेको पिपल्लास्थित रामजानकी मिष्ठान्न भण्डारका रामबाबु यादवले बताए ।