काठमाडौंका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेदेखि उठ्ने भएको छ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवार बसेको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौं,’ महानगर प्रमुख शाक्यले भने, ‘हामीले गर्नसक्ने समस्या भए हामी समाधान गर्छौं । हामीले नसक्ने भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । ‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो । काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने, ‘अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गर्दै आएका छौं ।’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले फोहोर उठाउने निर्णय भएको र सडक विभागले महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने निर्णय भएको बताए । ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति-सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’
पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने बताए । ‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीयका स-साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेम्म सम्झाइ-बुझाई गरेर शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौं । भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ ।’
बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए । महानगर प्रमुख शाक्यले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न अपील गरेका थिए ।