अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा अध्यक्षका उम्मेद्वार पंकजविक्रम नेम्बाङले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग ग्रासरुट फुटबल र सिसडोलमा रंगशाला निर्माण गर्नेबारे छलफल गरेका छन् ।
‘लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीकै वर्चस्छ छ, स्थानीय खेलाडी टिममा हुनै छाडेको छ, त्यसैले महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेनले भने, ‘हामी सिसडोलको ल्यान्डफिल साइट जुन काठमाडौ भन्दा १२ किलोमिटर मात्र टादा छ अहिलेको फोहोरलाई उचित ब्यबस्थापन गरेर सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं ।’ टुडिखेल लगायत महानगरका अन्य पार्क र मैदानमा राती खेल्नमिल्ने गरी फ्लडलाइट जडान गर्ने पनि उनले बताए ।
अहिले पनि काठमाडौ महानगरले महानगरमा भएको ए डिबिजनको क्लबहरु लाई प्रत्येक बर्ष १० लाख दिने गरेको छ ।नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै हाल एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले भने, ‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं । सुशासन, आर्थिक पारदर्शिता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं । यही सिस्टम बसाल्नकै लागि एन्फामा नेतृत्वको लागि चुनावी मैदानमा आएको छु । चुनाव जित्नेमा विश्वस्त छु ।’ छलफलमा उनीसहित उपाध्यक्षका उम्मेद्वार दावा लामा (अहिलेका केन्द्रीय सदस्य) र नवीन पाँडे (फुटबल फ्यान एवम् एन्फाका विदेश विभागका पूर्वप्रमुख) थिए ।
केन्द्रीय सदस्यको रुपमा दुई दशकअघि एन्फामा प्रवेश गरेका नेम्बाङ २०७४ सालमा उपाध्यक्ष निर्वाचित भएको एक वर्षपछि वरिष्ठ उपाध्यक्ष चुनिएका थिए । एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचन राजधानीमा सोमबार हुदैछ, जहाँ बेग्लाबेग्लै प्यानलसहित अहिलेको अध्यक्ष कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ नेतृत्वको दौडमा छन् । फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलको पनि अध्यक्षमा उम्मेदवारी परेको छ ।