शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर ३ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत सुदूरपश्चिम क्षेत्रमा पछिल्ला वर्षमा गिद्धको सङ्ख्या उल्लेख्य बढेकोमा संरक्षणकर्मीहरू उत्साहित छन् । कुनैवेला गिद्ध लोपोन्मुख अवस्थामा पुगिसकेको थियो।
कन्चनपुरमा सन् २०१० मा एउटामात्रै गुँड फेला परेकोमा हाल गिद्धका ५० गुँड फेला परेका छन् । “गुँड बढी देखिनुलाई सकारात्मकरूपमा लिन सकिन्छ”, नेपाल पञ्छी संरक्षण सङ्घका संरक्षणकर्मी हिरुलाल चौधरी भन्छन् । उनका अनुसार ५ देखि १० को सङ्ख्यामा झरिसकेको गिद्धको सङ्ख्या बढेर हाल २०० भन्दा बढी भैसकेको छ ।
यसैगरी कैलालीको खुटिया, अत्तरिया, बेली, पटेलालगायतका क्षेत्रमा पनि गिद्ध पाइने गरेका छन् । गिद्ध संरक्षणकर्मीका अनुसार कैलालीमा गिद्धको सङ्ख्या १५० को हाराहारीमा छ ।
गाईभैँसी लगायतका घरपालुवा पशुमा डाइक्लोफेनेक नामको औषधिको प्रयोगमा प्रतिबन्ध लगाइएपछि गिद्धको सङ्ख्यामा बढेको विज्ञहरूको ठहर छ । डाइक्लोफेनेक गिद्धका लागि निकै घातक सिद्ध भएको छ। उपचारको लागि डाइक्लोफेनेक प्रयोग भएका मृत चौपायाको सिनो गिद्धले खाँदा गिद्ध हृदयाघात भई मर्ने गरेका थिए । नेपालसहित बङ्गलादेश, भारत र पाकिस्तानमा गरिएको अध्ययनअनुसार गिद्धको सङ्ख्यामा ह्रास आउनाको मुख्य कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पुष्टि भएपछि यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो । घरपालुवा पशुहरूको उपचारका लागि डाइक्लोफेनेक औषधिको विकल्पकमा हाल गिद्धलाई असर नपुग्ने अरु औषधिको प्रयोग हुन थालेको छ ।
गिद्धको संरक्षणका लागि जनचेतना फैलाउने कार्यका साथै गिद्धले गुँड बनाउने रुखहरुको संरक्षणमा जोड दिइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान, झिलमिला, तारापुर, भतपुरी फाँटा, बर्निखेडा, लालपानी क्षेत्रमा गिद्धको बासस्थान रहेको छ । निकुञ्जसँगै त्यसको मध्यवर्ती क्षेत्रका रूपमा रहेका दोधारा चाँदनी, बन्साहा र लालझाडी क्षेत्रमा समेत गिद्धले गुँड लगाउने गरेको छ।
निकुञ्जका सूचना अधिकारी रविन चौधरीका अनुसार नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये यो निकुञ्जमा सात प्रजातिका गिद्ध पाइएका छन् । जसमा डङ्गर, हिमाली, सानो खैरो, सुन, खैरो, राज र गोब्रे गिद्धका प्रजाति रहेका छन् । उनका अनुसार सबैभन्दा बढी डङ्गर गिद्धको सङ्ख्या छ भने त्यसपछि सुनगिद्ध र सानो खैरो गिद्धको सङ्ख्या छ । अन्यको सङ्ख्या धेरै कम छ । लामो ठुडे र खैरो गिद्ध जाडो मौसममा मात्रै देखापर्ने गरेको छ । ती दुई प्रजातिका गिद्ध बाह्य क्षेत्रबाट ‘माइग्रेट’ भएर त्यहाँ पुग्ने गरेको उनले बताए।
सुदूरपश्चिमका पहाडी क्षेत्रमा पाइने सुनगिद्ध र राजगिद्ध जोगाउन बर्षेनी लाग्नेगरेको डँडेलो चुनौतीको रूपमा देखिएको छ । गिद्धले लगाएका गुँड डँडेलोमा परी जल्ने गरेका छन् । त्यसले गर्दा यी गिद्धको सङ्ख्या घट्दो देखिएको छ। आगलागी नियन्त्रण गर्न सकिएमात्रै यी प्रजातिका गिद्धलाई जोगाउन सकिने संरक्षणकर्मीको भनाइ छ ।
गिद्ध मांसाहारी चरा भए पनि त्यसले आफैँ शिकार गर्दैन । मरेका पशु गिद्धको मुख्य आहारा हो । यसैले प्रकृतिलाई सफा राख्नमा गिद्धको महत्वपूर्ण भूमिका छ । विज्ञहरूले विश्वमा गिद्धका २३ प्रजाति फेला पारेका छन् ।