कैलालीको दक्षिण पूर्वी क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिएका छन् ।
टीकापुर–भजनी डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा डल्फिन गणना गरिने छ । जमरा कुलो पथरिया सङ्गम, जनकपुर (बेलुवाघाट), सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया सङ्गम, गैरी पथरिया सङ्गम, काढानदी पथरिया सङ्गम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी सङ्गम, कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया सङ्गम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना सङ्गम, कर्णाली सत्तिपुल क्षेत्रमा डल्फिन गणना हुन लागेको अध्यक्ष ढुङ्गानाले बताएका छन् ।
पाँच वर्ष अघि अर्थात् २०७३ सालमा गणना गर्दा ६५ वटा डल्फिन भेटिएकामा त्यसको २ वर्ष पछि अर्थात् २०७५ सालमा गणता गर्दा ५५ वटा मात्रै देखा परेका थिए । अध्यक्ष ढुङ्गानाका अनुसार यो वर्ष ३५ देखि ४० वटा डल्फिन फेला पर्ने अनुमान छ।
डल्फिनको सङ्ख्या बर्सेनि घटिरहेकाले संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मीहरूको भनाइ छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा लगायत जैविक विविधता संरक्षणमा काम गर्दै आएको छ। वर्षाकालका चार महिना अर्थात् असार, साउन, भदौ र असोजमा पथरिया, काढा, कान्द्रा नदी, गैरीनाला, रेप्टीनालामा गङ्गेटिक डल्फिन देखा पर्छन् भने अन्य समयमा कर्णाली नदीमा देखिने गर्छन् ।