प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् । आयोगमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् थपलियाले संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदानकार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट सूक्ष्म अनुगमन भइरहेको थपलियाले भनाइ छ । “मतदान केन्द्र कब्जा गर्न खोज्ने, मतदाताको बाटो वा गौडा छेक्ने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्नेलाई कानून अनुसार कारबाही हुन्छ,” निर्देशनमा भनिएको छ, “वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने, मतपत्रको दुरूपयोग गर्ने, मतदानको अधिकारविना मतदान गर्ने, पटकपटक मतदान गर्न खोज्ने, मत सङ्केत सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको छ ।” प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवम् परिचालित हुने वातावराण बनाउन दृढ सङ्कल्पित रहेकाले सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ मा विश्वास रहेको बताए । “निर्वाचन व्यवस्थापनका लागि राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आमसञ्चारलगायत सबै सरोकारवालाको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ”, थपलियाले भने ।