नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण महिला फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलमा दुवै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेका थिएनन् । दोस्रो हाफमा भने सुस्त खेल देखाएका दुवै टोलीले खासै उपयोगी मौका बनाउन सकेनन् ।
खेलको ९ मिनेटमा नेपालले पहिलो मौका चुकायो । डिफेण्डर अमृता जैशीले अगाडि बढेर डि-बक्स बाहिरबाट हानेको प्रहार गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो । १०औं मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बुले डि-बक्स बाहिरबाट हानेको प्रहार चक्माले पन्च गरेर बाहिर पठाइदिइन् ।
खेलको ७ मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो अवसर गुमायो । गोलकिपर अञ्जना रानाले डि-बक्स भित्र फुत्काएको बललाई श्रीमोती सर्कारले खाली पोस्टमा गोल गर्न सकिनन् । उनको प्रहार अघिनै डिफेण्डर गीता रानाले बल खोसेकी थिइन् । खेलको ३० मिनेटमा बंगलादेशकी श्रीमोती सर्कारले डिबक्स बाहिरबाट हानेको प्रहार क्रसबारमाथि लागेर बाहिरियो ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटिको कप्तानीमा पहिलो मैत्रीपूर्ण खेलबाट तीन खेलाडी परिवर्तन गरेका छन् । गोलकिपर अन्जना राना मगर, रश्मि घिसिङ र अनिता बस्नेतले सुरुवाती-११ मा स्थान बनाएका छन् । यसअघिको खेलमा एन्जिला तुम्बापो सुब्बा, मन्जली कुमारी योन्जन र सबिता राना मगरलाई माैका दिइएको थियो ।
दोस्रो मैत्रीपूर्ण खेलमा प्रशिक्षक ग्यारीले रजिना थोकरलाई डेब्यु गराएका थिए । खेलको ८९ मिनेटमा रजनी प्रीति राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । दुई मैत्रीपूर्ण खेलमा ग्यारीले पाँच जनालाई डेब्यु गराएका हुन् ।
खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् ।
यसअघि पहिलो मैत्रीपुर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । एएफसी महिला एसिया कप-२०२२ छनोटको तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ ।
उक्त प्रतियोगिताका लागि नेपाली टीम भोलि (सोमबार) उज्वेकिस्तानतर्फ प्रस्थान गर्नेछ ।