नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपतीय निर्वाचनमा रामचन्द्र पौडेललाई जिताउने अभियानका लागि चुनावी कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरत्सिंह भण्डारी, नागरिक
उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् । कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ । बैठकले यही फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय पनि गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । त्यसैगरी, बैठकले फागुन १८ गते सङ्घीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ । सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई सहयोग गर्न आह्वान गर्ने बैठकको निर्णय छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकमा उपराष्ट्रपतिको निर्वाचन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्ता साझेदारी लगायतका विषयमा पनि छलफल भएको थियो ।
२५ गतेको राष्ट्रपतीय निर्वाचनमा गोप्य मतदानको व्यवस्था गरिएको छ । एमालेका सुवास नेम्वाङले अनेक पार्टीका जनजाति सांसदको मत तान्न सक्ने चर्चा सामाजिक सञ्जालमा चलेपछि आठ दलीय गठबन्धनले संगठित रुपमै चुनावी अभियान शुरू गरेको हो ।