प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।
कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबिच शुभारम्भ गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने सङ्कल्प सहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरू बिच छलफलमा छौँ’ उनले भने ।
उनका अनुसार शीर्ष नेताहरू बिच हुने गरेका छलफल पनि तिनै विषयका साथै सांसदका विभिन्न समितिहरू, सङ्क्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको छ ।
प्रधानमन्त्रीले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता जनताबिचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेसमेत बताएका छन् ।
प्रधानमन्त्रीले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेकोसमेत बताएका छन् । उनले भने, ‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्प सहित अगाडि बढेको छ । त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।’