नेपाली संगीतिक बजारकी ‘सेक्रेट स्टार’ हुन् लोक गायिका विष्णु माझी । सार्वजनिक जीवनमा उनी कहिल्यै देखिन्नन्, उनको स्वरले भने बजार तताएको छ ।
माझीकाे तीज गीत ‘चरी जेलैमा’ निकै लाेकप्रिय रह्याे । युट्युबमा ‘चरी जेलैमा’ ले छोटो समयमा धेरै हेरिएकोमा रेकर्ड नै बनाएको छ ।
तीज सकिएर पनि ‘चरी जेलैमा’ को चर्चा सेलाएको छैन । यसैबीच गायिका माझीको स्वरमा नयाँ 'दशैँ-तिहार' गीत सार्वजनिक भएको छ ।
उनको स्वरमा सार्वजनिक ‘दशैँ-तिहार आइसक्यो’ बोलको गीत पनि दर्शक स्रोताको मन जित्न सफल भएको छ । सपना म्युजिक इन्डष्ट्रिजको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गीतको भिडियो दुई दिनमा ११ लाख पटक हेरिएका छन् ।
‘यहीँको तापम घाम राजै, यहीँको तापम जुन
यहीँ जोतम्ला खेतबारी, यहीँ फलाम्ला सुन
आउ है गावैंमा....’
गीतले परदेशिएका आफ्नो मान्छेलाई गाउँ डाकेको छ । विष्णुको एकल स्वरमा रहेको गीतको शब्द र लय सिर्जना उनका श्रीमान् सुन्दरमणि अधिकारीले गरेका हुन् । ‘चरी जेलैमा’ को झल्को दिन गीतको कोरसमा महिमा आचार्यले स्वर भरेकी छन् ।
शिव विकको कोरियोग्राफीमा तयार भिडियोमा प्रिया विष्टको अभिनय देख्न सकिन्छ । शम्भु चालिसेले छायंकन गरेका दृश्यको सम्पादन सुजन शाहीले गरेका हुन् ।
विष्णुले गाएको ‘चरी जेलैमा’ ले छोटो अविधिमा दुई करोड भ्युज पाएको छ । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, लगायत उनले स्वर दिएका गीतले युट्युबमा करोडभन्दा बढी भ्युअर्स बटुलेका छन् ।