नेपाली कांग्रेस पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार विजुक्छे ४१४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरे ।
पोखरा सभापतिमा ६ जना प्रतिस्पर्धी थिए । वडाध्यक्षसमेत रहेका कास्कीका पूर्वसचिव रामराज लामिछानेले २०९ मत, अर्का नेता मिलन तिवारीले १५३, वडाध्यक्ष मोहन बाँस्तोलाले १२६ र पत्रकार ज्योति हमालले ११ मत प्राप्त गरे ।
सभापतिमा निर्वाचित विजुक्छे पोखरा उद्योग वाणिज्य संघका महासचिव पनि हुन् ।
नगरको उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । भण्डारीले ५६९ मत र बरालले ४६४ मत प्राप्त गरे । उपसभापतिमा ६ जना प्रतिस्पर्धी थिए ।
सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा विजयी भए । बाँस्तोलाले ८५८ मत र थापाले ७८९ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी सुरेन्द्रबाबु तिवारीले ६२१ मत पाए । दुई जना निर्वाचित हुने सचिवमा ३ उम्मेदवार थिए ।
सहसचिवमा संघर्ष कोइराला र सञ्जय आले विजयी भएका छन् । कोइरालाले ५८० र आलेले ४६५ मत पाए । सहसचविमा ६ जना उम्मेदवार थिए ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी, रुपामा विमलबाबु न्यौपाने निर्विरोध चयन भएका छन् भने माछापुच्छ्रेमा वीरेन्द्र गुरुङ र मादीमा यामबहादुर गुरुङ विजयी भएका हुन् । मादी र माछापुच्छ्रे दुबै पालिकाका सभापति हाल निर्वाचित वडाध्यक्ष हुन् ।