प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालिएको बताउनुभयो । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ कामको थालनी गरेको बताउनुभयो ।
जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको र सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने तथा विदेशमा बस्ने श्रमिकलाई समेत कोषमा जोड्ने काम गरेको प्रधानमन्त्री दाहालले त्यस बखत बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएको र ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको पनि प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।
नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताउनुभयो । सात दशक लडेर ल्याएको परिवर्तनले राष्ट्र र जनताको हित गर्न सकेन भने त्यो दुर्भाग्य पूर्ण हुनेछ भन्दै उहाँले परिवर्तन असफल भयो भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको पनि औँल्याउनुभयो ।
नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।
इटालीमा रहेका नेपालीले यहाँ आइपुग्दा र यहाँ रहँदा भोगेका समस्या बारेमा आफूले नजिकबाट जान्ने मौका पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारकातर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । त्यस बखत परराष्ट्र सचिव भरतराज पौडेलले गैरआवासी नेपालीको नागरिकतासम्बन्धी विषय सम्बोधन भएको बताउनुभयो ।।