राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।
बैठकको प्रारम्भमै एमाले सांसद देवेन्द्र दाहालले सो घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताए । समिति नबने संसद्को कामकारबाही अगाडि बढ्न नसक्ने पनि उनले बताए ।
संसदीय छानबिन समिति बनाइएको खण्डमा सो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ । राष्ट्रियसभामा एमाले संसदीय दलका नेता दाहालले विमानस्थलको सुरक्षा र भन्सारको सुव्यवस्थाका सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने होइन ? भनी प्रश्न समेत गरे । उनले विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भने ।
विमानस्थलबाट अवैध सुन बाहिरिएको दिन विमानस्थल भन्सार प्रमुख र विमानस्थलका सुरक्षा प्रमुख पनि बिदामा बसेको पाइएको उल्लेख गर्दै उहाँले विमानस्थलको भन्सार र प्रहरी प्रमुखहरु बिदामा बसेर सेटिङमा लागेको हुनसक्ने दाबी गरे ।
यही साउन ३ गते ठूलो परिणाममा विमानस्थलको बाटो हुँदै सुन तस्करी भएको उल्लेख गर्दै सांसद दाहालले सुन तस्करीको विषय गम्भीर भएको बताए ।
सांसद दाहालले आफ्ना भनाइ राखेसँगै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शून्य समयमा बोल्ने क्रममा अगाडि बढाउन खोजेपछि एमालेले विरोध जनाएको थियो । सांसद दाहालले मिटर व्याजसम्बन्धी विधेयकलाई पारित गर्नका लागि मात्रै आजको सदन सञ्चालन गर्न भनिएको उल्लेख गर्दै अन्य प्रक्रिया अगाडि नबढाउन माग गरे ।
एमालेको आग्रह पछि अध्यक्ष तिमिल्सिनाले शून्य समयमा सदस्यहरुले बोल्ने कार्यसूचीलाई हटाएको जानकारी गराएका थिए ।