आजदेखि काठमाडौमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि १८ जना केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताहरुले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।
पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेका थिए । बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले राखेको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो ।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले पार्टी पुनःनिर्माणको नयाँ अभियान सञ्चालन गर्नुपर्ने, पार्टीका नेता कार्यकर्ता जनतामा जोडिनुपर्ने बताउँदै नेता कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टी पार्टी जस्तो नभएको टिप्पणी गरेका थिए ।
अध्यक्ष दाहालको सम्बोधनपछि महासचिव देवप्रसाद गुरुङले बैठकको ‘एजेण्डा’ प्रस्तुत गरेपछि बैठक औपचारिकरूपमा छलफलमा प्रवेश गरेको थियो । बैठकमा अध्यक्ष दाहालले विधान संशोधन गर्नुपर्ने भन्दै केन्द्रीय समितिको आकार बढाएर चार सय नौ सदस्यीय बनाउने उल्लेख गरेका थिए ।
माओवादी केन्द्रले केन्द्रीय समिति समावेशी नभएकोले २५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न र केही नेतालाई समेट्नकालागि विधान संशोधन मार्फत् केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेको हो । माओवादी केन्द्रको एक बर्षपछि केन्द्रीय समितिको बैठक बसेको हो । यसअघी बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरिएकोमा स्थायी समितिका नेताहरूको विरोधपछि प्रत्यक्ष प्रसारण गरिएको थिएन । बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ ।।