न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षा बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।
देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको छ भने यो क्रम आइतबारदेखि झन् बढ्ने भएको जनाइएको हो । भोलिदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमासमेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ । वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने मौसमविद् कँडेलले बताइन ।
अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकार भएका निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले आज साँझ बुलेटिनमार्फत सार्वजनिक अनुरोध गरेको छ ।
तराई क्षेत्रमा आइतबार रातिदेखि साधारणतया बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।आइतबार कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
सोमबार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने जनाइएको छ । पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ८२ दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।
यस्तै अर्घाखाँचीमा ७२ दशमलव पाँच, दाङको पदमपुरमा ७२ दशमलव दुई मिलिमिटर पानी परेको छ । अन्य अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।