सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा मोटामोटी टुङ्गो लगाएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले मन्त्रालयको भागबन्डा टुङ्गो लगाएको हो ।
सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भैरहेको छ । गठबन्धन दलबीचमै विवाद उत्पन्न भएको आशङ्काबीच मंगलबार शीर्ष नेताहरूले कुन दलले कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने मोटामोटी टुङ्गो लगाएका हुन् ।
प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको बैठकले मन्त्रालयको भागबन्डा मिलाएको हो ।
कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले पाँच/पाँच मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसले प्रधानमन्त्री, गृह, कानुन, परराष्ट्र, सञ्चार, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ ।
माओवादी केन्द्रको भागमा अर्थ, ऊर्जा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपञ्छी मन्त्रालय परेको छ ।
एकीकृत समाजवादीले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय र जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति जुटेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले बताएको छ । बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको स्रोतले जनाएको छ।