अल्पमतमा परेकी बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् । प्रदेशसभाको बैठकमा बुधबार विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनु उचित हुने ठानेकी हुन् । स्रोतका अनुसार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै राजीनामा दिने मुख्यमन्त्री शाक्यको तयारी छ ।
प्रदेशसभामा रहेका १०९ जना सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् ।
मुख्यमन्त्री शाक्यलाई अहिले एमालेका ४३ जना सांसदको मात्रै समर्थन रहेकाले विश्वासको मत नपुग्ने हुँदा राजीनामा दिन लागेकी हुन् ।
शाक्य गत भदौ २ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन् । मुख्यमन्त्री बनेको केही हप्तामै अल्पमतमा परेपछि उनले गत २४ असोजमा प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गरेकी थिइन् । उनको प्रस्तावमाथि यही कात्तिक ४ गतेकाे प्रदेशसभा बैठकमा छलफल भएपनि मतदान आजको बैठकमा गर्ने तय भएको थियो । तर आज पनि विश्वासको मत नपुग्ने भएपछि शाक्यले राजीनामा दिन लागेकी हुन् ।
बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका २/२ तथा जनता समाजवादी पार्टी (जसपा)का १ प्रदेशसभा सदस्य छन् ।
गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो । पाण्डेको नेतृत्वमा बन्ने सरकारमा सुरुमा चारजना मन्त्री नियुक्त गरिने गठनबन्धनको तयारी रहेको बताइएको छ ।